काठमाडौं,कात्तिक ११ । खोटाङमा भएको ट्याक्सी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । थप चार जना घाइते भएका छन ।
दुर्घटनामा परी बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
उक्त दूर्घटनामा परि बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनका ९ महिनाका छोरा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी तर्फ जाँदै गरेको १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ साढे ६ बजेतिर दूर्घटनामा परेको थियो ।
ट्याक्सी सडकबाट झन्डै साढे २ मिटर तल खसेको प्रहरीले बताउको छ । प्रहरीका अनुसार विदेशबाट आएका आफन्तलाई भेट्न उनीहरू ट्याक्सी रिजर्भ गरी खोटाङ जान लागेका थिए।
घाइतेको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
