२०८३ असार ६ गते शनिवार

अर्घाखाँची शितगंगाको पहिरोले डेढ दर्जन परिवार विस्थापित

अर्घाखाँची,असोज १० । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१२ मा पहिरो जाँदा उच्च जोखिममा परेपछि थप डेढ दर्जन घर परिवार विस्थापित भएका छन् ।

नगरपालिकाको वडा नं। १२ कोठिया मैदानको जोख्ले गैरा, पहरेपानी, मैदान लगायतका स्थानमा शुक्रबार दिउँसो जमिन भासिएर माथिबाट पहिरो खस्दा १७ घर बगाएको थियो ।
गाउँका ३५ घरमध्ये १७ घर बगाएपछि बाँकी डेढ दर्जन घर पनि उच्च जोखिममा परेपछि सबै परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

१७ घरमा बस्दै आएका करिब सय जना बासिन्दा सबै पहिरोले घर नबगाउँदै भाग्न सफल भएकाले मानवीय क्षति नभएको नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए ।

उनीहरुलाई गौरा माध्यमिक विद्यालयमा राखिएको अधिकारीले बताए ।

पहिरोले १७ परिवारका गोठ, कुखुरा, कृषि फार्म, घरमा रहेका नगद, खाद्यान्न, कपडा पनि पुरेकाले ठूलो क्षति भएको वडा अध्यक्ष बाबुराम गैरेले बताए ।

घटनास्थलमा शनिबार पनि प्रहरी र स्थानीयवासीले विस्थापित परिवारलाई व्यवस्थित तरिकाले राख्ने काम गरिरहेका छन् । विस्थापित परिवारलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको उनले बताए ।

प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *