
काठमाडौं, भदौ २५। सरकारले एसिड प्रहार गर्नेलाई कारबाही गर्न विशेष कानुन ल्याउने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एसिड आक्रमणमा परेका १२ जनासँगको छलफलमा प्रधानमन्त्री ओलीले मानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका हुन् ।
एसिड आक्रमणमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट उपचार खर्च र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु-याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था कानुनमा हुने बताए । त्यस्तै एसिड पीडितलाई नि:शुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने, उचित तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध सरकारले मिलाउने समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।
यसका लागि १५ दिनभित्र कानुनको मस्यौदा तयार गर्न प्रधानमन्त्री ओलीले कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेलगायत सरोकार निकायलाई निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ ।
