२०८३ असार ११ गते बिहिवार

सल्यानमा हरेकका घरहरुमा किन ‘स्टिकर’ टाँस्दै हिडेको छ प्रहरी ?


शंकर केसी,
कपुरकोट, माघ २१ ।सल्यानमा हरेक घरहरुमा सचेतनामुलक स्टिकर टाँस्ने अभियान सुरु भएको छ । स्थानीय तहहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय सल्यानले घरघरमा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ ।कपुरकोट र कालिमाटी गाउँपालिकामा स्टिकर टाँस्ने अभियान सुरु भइसकेको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जिल्लाको शारदा, बागचौर, वनगाँडकुपिण्डे नगरपालिका तथा छत्रेश्वरी, शिद्धकुमाख लगाएतका गाउँपालिकामा अभियान सुरु भइसकेको जानकारी दिए ।

मंगलवार गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिमबहादुर सेन र प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले कपुरकोटमा सचेतनामुलक स्टिकर टाँसेर अभियानको सुरुवात गरेका छन् । त्यो स्टिकरमा व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै गर्नुपर्छ भन्ने विवरण, वाल विवाह न्यूनिकरण सम्बन्धि सचेतनामुलक नाराहरु लेखिएको छ ।

त्यसमा महिलालाई सम्मान गर्नुपर्ने सन्देशका साथै आत्महत्यालाई निरुत्साहित गर्ने कुरापनि रहेको छ । नागरिकका घर घरमा टाँस्न थालिएको स्टिकरमा प्रहरी,गाउँपालिका,विद्युत,एम्बुलेन्स लगाएत अत्यावश्यक र आकस्मिक फोन नम्बरहरु पनि समावेश गरिएको छ ।

यस प्रकारको स्टिकरले समाजमा सचेतना फैलाउने र कुनै घटना वा दुर्घटना भएमा तुरुन्तै सम्बन्धित निकायमा खबर गर्न नागरिकलाई सजिलो हुने विश्वास कपुरकोट गाउँपालिका अध्यक्ष समेत रहेका सेनले ब्यक्त गरे । प्रमुख जिल्ला अधिकारी न्यौपानेले स्टिकर हेर्दा सानो रहेपनि त्यसभित्र महत्वपूर्ण सन्देश लुकेको तर्क गरे ।

उनले समाजका विकृति, विसंगतिलाई हटाउन हरेक सचेत नागरिक एक हुनुपर्नेमा जोड दिए । जिल्ला प्रहरी प्रमुख खतिवडाले सम्बन्ध विच्छेद, वहुविवाहदेखि आत्महत्या जस्ता घटनाहरु हुनुमा विभिन्न कारण मध्ये बाल विवाह पनि प्रमुख कारण भएको भन्दै त्यसका विरुद्ध समाज एक हुन आवश्यक रहेको बताए ।

समाजिक बिकृति एवं विसंगति बिरुद्ध जनचेतना फैलाउन तथा सुरक्षा व्यबस्था थप सरल बनाउन अभियानले भूमिका खेल्ने उनले आशा व्यक्त गरे ।

प्रकाशित मिति : २०७६ माघ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *