
दाङ,पुस १६ । नेपाली काँग्रेसका नेता तथा प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले काँग्रेसले बनाएका पुल तथा विकाशका संरचना उद्घाटन गरेर नेकपा रमाई रहेको बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दमारगाउँमा मंगलवार तमु लोसारको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेशसभा सदस्य चौधरीले स्थानीय सरकारले तीन वर्ष त्यसै खेर फालेको भएपनि अब बचेको थप दुई वर्षलाई सदुपयोग गर्न आग्रह गरेका हुन । उनले त्यसका लागि आफु मिलेर काम गर्न तयार रहेको बताए ।
चौधरीले भने – ‘मेयरसाप तपाँईहरुले तीन वर्ष त्यसै खेर फाल्नु भएको छ अब बचेको दुई वर्ष सदुपयोग गर्न तर्फ ध्यान दिनुहोस । त्यसमा मैले के सहयोग गर्नु पर्छ,म प्रेदशवाट स्रोत जुटाउन नसके अन्तराष्ट्रिय जगतवाट समेत स्रोत खोज्न भूमिका खेल्ने छु।’

प्रदेश नं. ५ का सार्वजनिक लेखा समितिका सभापति समेत रहेका चौधरीले चखौरा थारुहरुको गनतब्य बन्न थालेको भन्दै दमार गाउँलाई गुरुङहरुको गनतब्य बनाउन सकिने उनले तर्क गरे ।
‘मेयरसाप तपाँईहरुले हामीले बनाएका पुल र वसपार्क उद्घाटन गर्दै तीन वर्ष विताउनु भएको छ,’ चौधरीले भने ‘कम्तिमा तपाँईहरुपनि केही गर्नुहोस र भोलि तपाँईहरुले गरेका कामको उद्घाटन अर्कौ आउने नयाँ सरकारले गर्न पावस।’
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य चौधरीले यो भनिरहँदा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे स्टेजमा विशिष्ट अतिथिको रुपमा आसिन थिए । त्यस्तै चौधरीले विधि र प्रक्रिया मिचेर वन क्षेत्रमा उत्खनन् गर्न खोज्दा समस्या उत्पन्न भएको भन्दै त्यसलाई पनि सच्चाएर जान मेयर पाण्डेलाई आग्रह गरे ।
उनले सबै जातजातिका भेष भुसा तथा कला र संस्कृति देशका साझा सम्पत्ति भएको हुँदा सबैको उचित संरक्षण गर्नुपर्ने बताए । प्रदेश सांसद चौधरीले भने–‘हामी कहाँ गलत प्रचलन छ जनजातिले बनाएको मदिरा नष्ट गर्ने र विदेशवाट अर्बौैंको मदिरा खरिद गर्ने प्रवृतिको पनि अन्त्य हुनुपछ।’

कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुरका मेयर पाण्डेले सबै जातजातिका कला संस्कृति र भेष भूषा राष्ट्रका साझा सम्पत्ति भएको भन्दै त्यसको संरक्षणमा स्थानीय सरकार लागि रहेको बताए । दमार गाउँको गुरुङ समुदायको पहिचानलाई नेपालकै एउटा पहिचान र गनतव्य स्थल बनाउने गरि दिर्घकालिन गुरु योजना बनाएर आफुलाई दिन मेयर पाण्डेले आग्रह गरे ।
पाण्डेले भने – ‘यो क्षेत्रको विकाशका लागि के गर्न सकिन्छ ? गुरु योजना बनाएर ल्याउनु होस म त्यो पुरा गर्न आर्थिक अभाव हुन दिने छैन।’
कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुर वडा नं. ३ का वडाध्यक्ष विरबहादुर विक (विजय)ले लोसार पर्वको लागि अबदेखि वडाले प्रत्येक वर्ष एक लाख रुपैंया उपलब्ध गराउने घोषणा गरेका छन् । त्यसवाहेक त्यहाँ गुम्वा निर्माणको लागि भूमिका खेल्ने उनले बताए ।

वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकालले अनेकतामा एकता कायम गर्दै धार्मिक पर्यटन प्रवर्धन गर्न यस्ता मौलिक पर्वहरुले ठूलो भूमिका खेल्ने हुँदा त्यसमा वडाध्यक्षको हैसियले जस्तो सुकै सहयोग गर्नपनि तयार रहेको बताए ।
दमार गाउँ गुरुङ समाजका अध्यक्ष सुरेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद मनतब्य धन्यवाद मनतब्य व्यक्त गरेका थिए । त्यसक्रममा विभिन्न व्यक्तिहरुले सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।


