
दाङ, कात्तिक १३ । यो वर्ष तिहारको अवधिमा दाङमा कुनैपनि अप्रिय घटना वा दुर्घटना भएनन् । पूर्व सावधानिका कारण जिल्लामा यो तिहार शान्ति पूर्ण रुपमा सकिएको जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए । एकाध साना दुर्घटना भएपनि तिहारको समयमा हताहत हुने खालका घटना नभएको उनले फरककोणलाई जानकारी दिए ।
‘कुनैपनि अप्रिय घटना वा दुर्घटना नभएको जानकारी गराउँदा पाउँदा हामी खुसी छौं,’ एसपी भट्टराईले भने । केही दिन पहिलेदेखि नै प्रहरीले जिल्लामा जुवा तास खेल्नेहरुलाई भने निकै कडा निगरानी बढाएको थियो । यो बीचमा घोराही र लमही क्षेत्रवाट जुवाडेहरु पक्राउ परेका छन् । जिल्लामा ट्राफिक प्रहरीले दशैं भन्दा केही समय पहिलेदेखि नै सवारी चेकजाँचमा तीव्रता दिएको थियो ।
मापसे गरेर सवारी चलाउनेलाई पक्राउ गरि एक रात थुन्ने र दोस्रो दिन जरिवाना तिलाउनुको साथै संझाई बुझाई गरेर मात्रै छोड्ने गरेको हुँदा सुवारी दुर्घटना न्यूनिकरण भएको प्रहरीको दाबी छ । पूर्व सूचना जारी गर्दै प्रहरीले देउसी भैलो रातको १० बजेसम्म मात्रै खेल्न, पटाका नपट्काउन तथा कहिकतै हो हल्ला भएको देखे तत्कालै प्रहरीलाई खवर गर्न सर्वसाधारणलाई अपिल गरेको थियो । त्यस्तै पूर्व सावधानीले गर्दापनि तिहार शान्ति पूर्ण वितेको प्रहरीको विश्लेशन छ ।