
साउन १ देखि प्रदर्शनमा
तुलसीपुर, असार २० ।
बालविवाह, महिला संघर्ष, शिक्षा र पारीवारिक सम्बन्धको संवेदनशील कथा प्रस्तुत गर्ने नेपाली चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
प्रदर्शनको तयारी स्वरूप चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ। करिब ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले शिक्षाको सपना बोकेकी एक युवतीले सामाजिक कुरीति, पितृसत्तात्मक सोच र वैवाहिक जीवनमा भोग्नुपरेका चुनौतीबीच गरेको संघर्षलाई चित्रण गरेको छ ।
अटिजम भएका युवकसँग विवाह गरेपछि उनले भोग्ने मानसिक तथा सामाजिक पीडा, महिलाको शिक्षा, घरेलु हिंसा र परम्परागत सोचका कारण चकनाचुर हुने सपनालाई ट्रेलरले प्रस्तुत गरेको छ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक डा. कपिल रिजालले चलचित्रले मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य बोकेको बताए । चलचित्रको मूल विषय बालविवाह, महिला सशक्तिकरण, शिक्षाको महत्व र पारीवारिक जिम्मेवारीमा केन्द्रित रहेको उनले बताए ।

जस्को कथा डा. भोला रिजालले लेखका हुन । चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, रविन्द्र झा, लुनिभा तुलाधर, इश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मिनाथ तिमिल्सिना, राजेन्द्र नेपाली, अंशु ओली र प्रिन्स नेपालीको अभिनय छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रको निर्देशन डा. कपिल रिजालले गरेका छन् । चलचित्रको पटकथा तथा संवाद लेखनमा निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ का उपाध्यक्ष नारायणी रजौरेले सामाजिक रूपान्तरणका लागि सन्देशमूलक चलचित्रको भूमिका महत्त्वपूर्ण हुने बताइन । तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बिमल रिजालले यथार्थपरक र समाज परिवर्तनका पक्षमा बनेका चलचित्रलाई सबैले साथ दिनुपर्ने बताए ।
कार्यक्रम चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष निरला अर्यालको अध्यक्षतामा भएको हो भने सहजीकरण सचिव एकराज भण्डारीले गरेका थिए ।