२०८२ कार्तिक २५ गते मङ्गलवार

पहिरोको कारण मुग्लिन–नारायणगढ सडक ३६ घण्टादेखि अवरुद्ध, यात्रु अलपत्र


नारायणगढ,असोज ५ । मुग्लिन–नारायणगढ सडकखण्ड ३६ घण्टादेखि अवरुद्ध छ । पहिरोका कारण शुक्रबार (असोज ३) बेलुका करिब साढे ६ बजेदेखि यो सडक अवरुद्ध भएको हो ।

उक्त सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको छ । पहिरो पन्छाउने प्रयास जारी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो पन्छाउने कार्य राति रोक्ने गरिएको छ । बिहानदेखि बेलुकासम्म पहिरो पन्छाउन टोली खटिए पनि सफल भएको छैन ।

मुग्लिनतर्फबाट ढुंगा खस्ने क्रम निरन्तर भइरहेकाले निर्बाध रूपमा पहिरो हटाउन समस्या भएको सडक डिभिजनले जनाएको छ ।

आइतबार पनि बिहानदेखि पहिरो पन्छाउने कार्य थालिएको छ । ढुंगा झर्ने क्रम अझै नरोकिएको सडक डिभिजनले जनाएको छ ।

“ढुंगा झर्ने क्रम अझसम्म पनि रोकिएको छैन । अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढतर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुचारु भइसकेको जानकारी गराउँछौँ,” सडक डिभिजनले आइतबार बिहान एक सूचनामार्फत भनेको छ, “थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन कटिबद्ध रहेका छौँ ।”

पहिरो हटाएर आज बिहान १०/११ बजेसम्म बाटो खुलाउन सकिने प्रारम्भिक अनुमान छ ।

सडक अवरुद्ध हुँदा यात्रु बीचबाटोमा अलपत्र परेका छन् । सयौँको संख्यामा सवारीसाधन उक्त स्थान आसपास क्षेत्रमा रोकिएका छन् । त्यो सडक भएर दैनिक हजारौँ सवारीसाधन ओहरदोहर गर्ने गरेका छन् । त्यसको वैकल्पिक सडक त छन्, तर निकै साँघुरा र लामो दूरी पार गर्नुपर्ने हुन्छ ।

संघीय राजधानी काठमाडौंलगायत स्थानबाट पूर्व–पश्चिम राजमार्गसम्म पुग्ने यो प्रमुख सडक हो । अधिकांश मालवाहक सवारीसाधन यही बाटो भएर काठमाडौं प्रवेश गर्छन् ।

बर्खाको समयमा उक्त सडकमा पहिरोका कारण बेलाबेला समस्या हुने गरेको छ । तुइन खोला पुलनजिकै यो वर्ष पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *