दाङ, भदौ १३ । अछाममा महिनावारी बार्न घर बाहिर त्रिपालमा सुतेका मध्य एक बालिकासहित महिलाको मृत्यु भएको छ । बालिकाकी आमा गम्भीर घाइते छिन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखुली टोलका ७ बर्षीया कबिता भण्डारी र ३५ बर्षीया निमा खनालको भीर माथिबाट झरेको ढुँगाले लागेर घटनास्थलमै मृत्यु भएको थियो । बालिका कबिताकी आमा रत्ना भण्डारीको अवस्था गम्भीर छ ।
छिमेकी दुई महिला रत्ना भण्डारी र निमा खनाल महिनावारी भएको हुँदा घरदेखि करिब ५० मिटर टाढा बारीमा त्रिपाल टाँगेर महिना वारी बार्न भनेर अलग्गै बसेका थिए । आमा संगै ७ बर्षीया छोरी कबितापनि त्रिपालमै सुत्न गएकी थिइन ।
अबिरल बर्षाका कारण उनीहरु सुतिरहेको समयमा भीरबाट खसेको ढुँगाले लागेर शुक्रबार बिहान साढे ५ बजेतिर कबिता र निमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
घाइते रत्नालाई ढुँगाले टाउकोमा चोट लागेको हुँदा अवस्था गम्भीर रहेको डिएसपी खनालले बताए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर देउवाको नेतृत्वमा प्रहरी टोली पुगेको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
