दाङ, असार २२ । सुर्खेतमा प्रहरीले स्थानीयले उत्पादन गरेको मदिरा जफत पछि नष्ट गरेको छ ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१ गैरीगाउँका एक स्थानीयको घरमा डेरा गरि बस्ने ३३ बर्षीय नवराज परियारले उत्पादन गरेको घरेलु मदिरा जफत पछि प्रहरीले नष्ट गरेको हो ।
परियार सल्यान बागचौर नगरपालिका – २ का बासिन्दा हुन । अवैध मदिरा तयारी, उत्पादन,भन्डारण तथा कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोली उक्त स्थानमा जाँदा
परियारले आफ्नो डेरा कोठामा अबैध घरेलु मदिरा उत्पादन गर्नुका साथै भन्डारण गर्ने तथा कारोबार गर्ने गरेको पाइएको हुँदा मदिरा जफत गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
परियारको कोठाबाट २० लिटरको २२ थान बाल्टीनमा रहेको कच्चा पदार्थ ३८५ लिटर र तयारी मदिरा रक्सी १५ लिटर गरी ४०० लिटर (अवैध) मदिरा रक्सी फेला परी वरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
परियारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय वीरेन्द्रनगर सुर्खेत पठाइएको प्रहरीले जानकारी दिएको छ ।
बरामद भएको मदिरा स्थानिय जनप्रतिनिधीको रोहवरमा नष्ट गरेको पनि प्रहरीले बताएको छ ।