दाङ, असार ९ । मुगुमा करेन्ट लागेर दश खच्चड मरेका छन् ।
ढुवानीका लागि प्रयोग गरिएका दश खच्चड हिडिरहेको समयमा नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट भएपछि करेन्ट लागेर मरेका हुन ।
स्थानीय छायाँनाथ रारा गाउँपालिका –१ का कर्णबहादुर मल्लका चार वटा, छायाँनाथ रारा – १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन–तीन वटा खच्चर बाटोमा भारी बोकेर हिडिरहेको समयमा वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा करेन्ट लागेर घटनास्थलमै मरेको हुन ।
आइतबार बेलुकी ६ बजेतिर ट्रान्समिटरबाट विद्युत चुहावट भइ करेन्ट लाग्न पुग्दा घटनास्थलमै खच्चड मरेका थिए । शुक्रबार मात्रै छायाँनाथ रारा – १२ कम्फागाउँका खड्कबहादुर बुढाको भैंसी करेन्ट लागेर मरेको थियो ।
मुगुका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक अच्यूतराज आचार्यका अनुसार ती खच्चडहरु सदरमुकाम गमगढीबाट सामान बोकेर मुगुम कार्मारोङ गाउँपालिका तर्फ जाँदै थिए ।
प्राधिकरणले विद्युत अर्थिङ सुरक्षित बनाउन ध्यान नदिएको हुँदा क्षति भएको भन्दै तत्काल ब्यबस्थित गर्न स्थानीयले माग गरेका छन् ।
स्थानीयले खच्चड धनिलाई विद्युत कार्यालयले क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने मागपनि गरेका छन् । एउटा खच्चडको मूल्य कम्तिमा एक लाख ५० हजारसम्म पर्ने स्थानीयले बताएका छन् ।