काठमाडौं,बैशाख ११ । न्यूनतम पारिश्रमिक नदिएको र श्रम शोषण भइरहेको भन्दै आवासीय चिकित्सकहरू आन्दोलित भएका छन्।
बिहीबार उनीहरूले माइतीघरबाट प्रदर्शन गर्दै स्वास्थ्य मन्त्रालय घेराउन प्रयास गरे पनि प्रहरीले बाटोमै रोक्यो।
आन्दोलनरत चिकित्सकहरू सरकारको निर्णय कार्यान्वयन नभएको भन्दै आक्रोशित छन्। मन्त्रिपरिषद्ले आठौँ तहअनुसार सेवा सुविधा दिने निर्णय गरे पनि कार्यान्वयन नगरेको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
प्रदर्शनका क्रममा प्रहरी र चिकित्सकबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सरकारकै निर्णय कार्यान्वयन गराउन खोज्दा प्रहरीले रोकेकोप्रति असन्तुष्टि जनाए।
उनका अनुसार स्वास्थ्य मन्त्रालयले आठौँ तहको संरचना लागू गर्ने निर्णयमा हस्ताक्षर गरे पनि व्यवहारमा त्यो लागू नभएकोले दबाब दिनु परेको हो।
चिकित्सक संघले मागहरू पुरा नभए वैशाख १२ गतेदेखि आकस्मिक र सघन उपचारबाहेक सबै स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनीसमेत दिएको छ।
आन्दोलन चर्कँदै गएको अवस्थामा अब सरकारको कदम कस्तो हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
