बुटवल, माघ ४ । लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसुतिसम्बन्धि शल्यक्रिया कक्ष थप गरिएको छ ।
प्रसुती सेवालाई विस्तार गर्दै तीन वटा शल्यक्रिया कक्ष थप गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार ती कक्षको उद्घाटन गरेका हुन ।
उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न शल्यक्रिया कक्षले सहयोग पुग्ने उनले बताएका थिए ।
आचार्यले भने ‘अव पालो पर्खनुपर्ने समस्यालाई हल गर्न सक्ने छौं भन्ने लागेको छ ।’ उनले दत्तचित्त भएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन थप भूमिका खेल्न आग्रह गरेका थिए ।
३ वर्षको तथ्याङ्क अनुसार अस्पतालमा वार्षिक नौं हजार बढी बिरामीले शल्यक्रिया सेवा लिएका छन । अस्पतालमा पछिल्लो आर्थिक वर्ष २०८० ÷ ८१ मा ९ हजार ७६५ ले शल्यक्रिया सेवा लिएका थिए ।
जसमध्ये ४ हजार ५४७ वटा शल्यक्रिया प्रसुति सम्बन्धि थिए । पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएका मध्ये ७ हजार ५४८ जनाले सामान्य रुपमा बच्चा जन्माएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९७१ जनाले स्वास्थ्य सेवा लिएको उल्लेख छ ।