घोराही ,पुस २० । त्रिभुवननगर जेसीज सन् २०२५ का लागि निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ ।
त्रिभुवननगर जेसीजको ४० औं पद हस्तान्तरण कार्यक्रमको आयोजना गरेर पद हस्तान्तरण गरिएको हो ।
त्रिभुवननगर जेसीज सन् २०२४ का अध्यक्ष रविकिरण केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा त्रिभुवननगर जेसीजको सन् २०२५ का लागि निर्वाचित अध्यक्ष टंक रावत (अनन्त) लगायतको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो ।
त्रिभुवननगरको विधान अनुसार दुई कार्यकारिणी उपाध्यक्ष, चार उपाध्यक्ष र सचिव निर्वाचित र बाँकी अन्य पदहरुमा नवनिर्वाचित अध्यक्षले मनोनीत गर्ने कानुनी व्यवस्था छ ।
कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले जेसीजमा लागेका युवामा नेतृत्व र क्षमता विकाससँगै सामाजिक क्षेत्रमा सक्रियता हुने बताउँदै त्रिभवुननगर जेसीजले गरेका कामको प्रशंसा गरेका थिए ।
उनले जेसीजबाट दलीय नेतृत्वले पनि पाठ सिक्ने बेला आएको पनि बताए ।
एक अर्को प्रसंगमा मन्त्री न्यौपानेले आफू उद्योगको प्रवद्र्धनमा ध्यान दिएर लागेको बताउँदै कला संस्कृतिलाई उद्यमसँग जोड्न सकेमा पर्यटन प्रवद्र्धनसँगै संस्कृति संरक्षणमा महत्वपूर्ण काम हुने बताए ।
वर्ष २०२४ का उपाध्यक्ष एवं पद हस्तान्तरण कार्यक्रमका संयोजक महेश खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण त्रिभुवननगर जेसीज सन् २०२४ का महासचिव रमेश घिमिरेले गरेका थिए ।