गुल्मी,पुस १ । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीस्थित रुद्रावती बहुमुखी क्याम्पसका प्रमुख ४५ वर्षीय कृष्णप्रसाद सापकोटा पक्राउ परेका छन्।
सोही क्याम्पसमा अध्ययनरत २३ वर्षीया छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उनलाई पक्राउ गरेको हो।
आइतबार जाहेरी दर्ता भएकोमा सोहि दिन पक्राउ गरेर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए। पक्राउ परेका सापकोटाको घर कालिगण्डकी गाउँपालिका–५ फोक्सिङ हो।
क्याम्पस प्रमुख सापकोटाले आफूलाई निरन्तर चार वर्षदेखि यौन आशयले संवेदनशिल अंगहरु छुने, अश्लिल शब्दहरु बोल्ने गरेको उजुरीमा उल्लेख छ। प्रहरीले समेत सुरुमा मुद्दा दर्ता गर्न नमानेको पीडित पक्षको आरोप छ।
तर, प्रहरीले भने पीडितसंगको संवादपछि उनले चाहेकै विषयमा मुद्दा दर्ता भएको जनाएको छ। प्रशासनबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताए।
यो विषयलाई रुद्रावती बहुमुखी क्याम्पस मुसिकोटको स्वतन्त्र विद्यार्थी युनियनले समेत विज्ञप्तीमार्फत् चर्को विरोध गरेको छ।
स्ववियू अध्यक्ष अनिष पाठक र सचिव कर्णबहादुर नेपालीद्वारा जारी विज्ञप्तीमा यस्तो घटना पहिलो नभएको, सर्वत्र चर्चा हुँदा पनि क्याम्पस प्रशासनले कुनै चासो नदिएको उल्लेख छ।
पीडितलाई अन्याय हुने र क्याम्पसमा असहजता आउने अवस्थालाई क्याम्पस प्रशासनले नसोच्ने र प्रहरी प्रशासनले न्यायमा सहजीकरण नगरे आफूहरु थप आन्दोलित हुने अध्यक्ष पाठकले बताए।
