भैरहवा,मंसिर १४ ।बुद्ध जन्मस्थलमा रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह शुक्रबार हुँदैछ । समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आउँदैछन् ।
कार्यक्रममा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल लगायत मन्त्रीका साथै स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाको सहभागिता रहने विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले जानकारी दिए ।
उनकअनुसार शुक्रबार विभिन्न तहमा अध्ययन पूरा गरेका एक विदेशीसहित २ सय ८९ विद्यार्थी दिक्षित हुँदैछन् । लुम्बिनीबाट स्नाकोत्तर तह उतीर्ण गरेका एक बेलायती नागरिक पनि शुक्रबारै दीक्षित हुँदैछन् । उनीबाहेक स्नाकोत्तर तहका १ सय ८६, स्नातकका ८८, विद्यावारिधी पूरा गरेका ७ र पीजीडीका ८ विद्यार्थी दिक्षित हुनेछन् ।
विश्वविद्यालयमा अहिले ६८ विदेशीसहित २ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले पहिलोपटक मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्न लागेको जनाएको छ ।
बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा योगदान पुर्याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य)लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्न लागिएको विश्वविद्यालयका रजिस्टार तिलकराम आचार्यले जानकारी गराए ।
उनका अनुसार दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ ।