दाङ,मंसिर १० । घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित आधारभूत विद्यालय गिठेपानीको विद्यालय सुधार तथा सर्वाङ्गिण विकासका लागि संचालित श्रीमद्भागवत् ज्ञानमहायज्ञबाट करिव साढे १९ लाख रुपैयाँ वचत भएको छ ।
सोमबार विद्यालयमा आयोजित महायज्ञको आयव्यय विवरण सार्वजनिक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् महायज्ञ मूल समारोह समिति संयोजक दिनेश वलीले संकलन भएको रकमबाट सबै खर्च कटाएर १९ लाख ४६ हजार ९ सय ९८ रुपैयाँ वचत भएको जानकारी दिए ।
महायज्ञमा दाताबाट दान गरेको वापत ३५ लाख ३९ हजार ९ सय ९५ रुपैयाँ सङ्कलन भएकोमा महायज्ञ संचालन गर्दा १५ लाख ९२ हजार ९ सय ९७ रुपैयाँ खर्च भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीले जानकारी दिए ।
विद्यालयमा माध्यमिक तह सञ्चालन, खेलकुदका सामग्री खरिद, भौतिक पूर्वाधार निर्माण, अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित गरिएको महायज्ञकात्तिक २३ देखि ३० गतेसम्म सञ्चालन भएको थियो ।
विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि हुँदै जाँदा साधन स्रोतको कमी भएको तथा अन्य आम्दानीको स्रोत नहुँदा दाताको भर पर्नु पर्ने अवस्थाका कारण महायज्ञ संचालन गर्नु परेको उनले बताए ।
यसमा सबैको सहयोग समेत भएको बताउँदै वचत भएको रकमलाई सबैको सल्लाह अनुसार उद्देश्य अनुसारको क्षेत्रमा लगानी गरिने बताए ।
विद्यालयका प्रधानाध्यापक गिरीप्रसाद भट्टराईले महायज्ञबाट वचत भएको रकमले विद्यालयको शिक्षा सुधारमा सहयोग पुग्ने बताए ।
महायज्ञ सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दानदाता, सम्पूर्ण समिति तथा उपसमिति, अभिभावक, सञ्चारकर्मी, राजनीतिक दल, शिक्षाप्रेमी, स्थानीयवासीलगायत नागरिकमा आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।
