२०८१ मङ्सिर १९ गते बुधवार

कालीकोट जिप दुर्घटना : मृतक ६ जनाको पहिचान खुल्यो

सुर्खेत,कार्तिक २५ । कालीकोटको पलाता गाउँपालिका–३ राडुनेटामा जिप दुर्घटना परेर मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही तथा पलाता–३ का दमन रोकाया छन् ।

यस्तै दुर्घटनामा घाइते हुनेहरुमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, पलाता–५ का दोली विक र आयुशा विक, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया, ठेगाना नखुलेका जिपका चालक धनिराम रावत रहेका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दानबहादुर, निर्मला, जगत दोली, आयुशा र चालक धनीरामको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

घाइते १३ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि कर्णाली प्रादेशीक अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।

पलाता–५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप आइतबार दिउँसो दुर्घटनामा परेको हो । राडुको उकालोमा अनियन्त्रित भइ काप्री खोलामा खसेर दुर्घटना भएको हो ।

कर्णाली करिडोर हुँदै घाटपारि चौरसम्म सडक संचालन भए पनि त्यहाँबाट पलाता जोड्ने कर्णाली नदीमा पुल छैन ।

पुल नहुँदा दुई वर्षअघि डिजेल र पेटोल राख्ने ड्रमलाई काठमा डोरीले बाधेर त्यसैमाथि बोलेरो जिप राखेर नदी तारेर थिर्पू गाडी लगिएको थियो । त्यहीबाट पलाताको थिर्पूबाट धौलागोहसम्म जिपले यात्रु ओसारपसार गर्ने गरेको छ ।

जिपले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

५ जना यात्रु क्षमताको जिपमा २० जनाले यात्रा गरिरहेका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *