२०८३ बैशाख ३ गते बिहिवार

कर्मचारीको खटनपटन तथा जिम्मेवारी हेरफेर नियम संगत छ : दंगीशरण गाउँपालिका

प्रमोद आचार्य,दंगीशरण, चैत २७। दंगीशरण गाउँपालिकाले कर्मचारीको खटनपटन तथा जिम्मेवारी हेरफेरको विषय नियम संगत रहेको जनाएको छ ।

कुनै राजनीतिक पूर्वाग्रह नराखी पालिकाबाट जनतालाई प्रदान गर्ने सेवा छिटो, छरितो र सहज ढंगबाट सेवा प्रवाह गर्नका लागि प्रचलित ऐन र नियमको आधारमा कर्मचारीहरुको खटनपटन र जिम्मेवारी हेरफेर गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ ।

दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा खड्का वलीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कर्मचारीको खटनपटन तथा जिम्मेवारी हेरफरको विषयलाई अतिरंजित, कपोलकल्पित र भ्रामक समचारका रुपमा प्रकाशन गरिएको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।

कर्मचारी खटनपटन तथा जिम्मेवारी हेरफरका सन्दर्भलाई लिएर स्थानीय सरकारका जनप्रतिनिधिहरूमाथि अनर्गल लान्छना लगाउने कार्य भएको भन्दै प्रेस विज्ञप्तिमा उक्त कार्यको घोर भत्र्सना समेत गरिएको छ । साथैै पदाधिकारीकाबीचमा फुट ल्याउने गरि कुटिल मनसायले गाउँपालिका अध्यक्ष र उपाध्यक्षविच बोलचाल नै नभएको भन्ने जस्तो घृणित र कपोलकल्पित समाचारमा पनि कुनै सत्यता नरहेको जनाइएको छ । साथै पालिकाले विज्ञप्तिमार्फत घट्नाबारेमा स्पष्ट पारेको छ ।

१. दंगीशरण गाउँपालिकाको सूचना अधिकारीको जिम्मेवारीका सन्दर्भमा साविकदेखि नै सूचना अधिकारीको रूपमा जिम्मेवारी सम्हालि रहेका शिक्षा अधिकृत (सातौं तह) ले आफ्नो कार्यव्यस्तताका कारण सूचना अधिकारीको जिम्मेवारी सम्हाल्न नसके मौखिक जानकारी तत्कालिन प्रमुख प्रशासकीय अधिकृतलाई दिएकोे भन्ने जानकारी भएकाले सूचनाको हक सम्बन्धी ऐन तथा नियमावली बमोजिम ने नेपाल स्वास्थ्य सेवाको अधिकृत छैठौं तहमा कार्यरत रहेका जनस्वास्थ्य निरीक्षकलाई सूचना अधिकारी तोकेको जानकारी हामीलाई तत्कालिन प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त भएको हो । गाउँपालिकाको अध्यक्षको दबाबमा साविकका सूचना अधिकारीको जिम्मेवारी खोसेर आफू निकट कर्मचारीलाई जिम्मेवारी तोकिएको भन्ने समाचारमा कुनैपनि सत्यता रहेको छैन ।

२) स्वास्थ्य शाखाको प्रमुखमा तत्कालिन समयमा कार्यरत शाखा प्रमुखलाई अध्यक्षको ठाडो आदेशमा हटाएर नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्षलाई जिम्मेवारी तोकिएको भन्ने सन्दर्भमा पनि कुनै सत्यता छैन । तत्कालिन स्वास्थ्य शाखा प्रमुखले स्वेच्छाले जिम्मेवारी छोडि गएको र एक हप्तासम्म स्वास्थ्य शाखा प्रमुख विहिन भएकोले यसरी खालि राखिरहँदा जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने जस्तो संवेदनशील शाखालाई खाली राखिरहन नमिल्ने भएकोले तत्कालिन प्रमुख प्रशासकीय अधिकृतले हालका शाखा प्रमुखलाई जिम्मेवारी तोक्नुभएको हो ।

३) जिन्सी व्यवस्थापन शाखा प्रमुखमा पनि सेवा समूह र तह नमिल्ने कर्मचारीलाई जिम्मेवारी दिइएको भन्ने सन्दर्भको समाचारमा पनि कुनै सत्यता छैन । दंगीशरण गाउँपालिकाको स्विकृत संगठन संरचना तथा दरबन्दी तेरिजमा नेपाल प्रशासन समूहको सहायक पाँचौ तहको कर्मचारीलाई जिन्सी शाखाको प्रमुखको जिम्मेवारी प्रदान गर्ने व्यवस्था अनुरूप तत्कालिन प्रमुख प्रशासकीय अधिकृतले नेपाल प्रशासन सेवाका हालका जिन्सी शाखा प्रमुखलाई जिम्मेवारी दिनु भएको हो ।

स्मरण रहोस् प्रशासन समूहको कर्मचारीलाई जिन्सी प्रमुखको जिम्मेवारी दिने प्रचलित व्यवस्थाको विपरीत अगाढीका प्रमुख प्रशासकीय अधिकृतले विविध समूहको कम्प्युटर अपरेटरलाई जिम्मेवारी दिएको हुँदा नमिल्दो जिम्मेवारीलाई सुधार गरी तत्कालिन जिन्सी शाखा प्रमुखलाई पनि सोहि शाखामा नै कायम राखि जिन्सी शाखा प्रमुखको जिम्मेवारीमात्र तोकिएको जानकारी हामीहरूलाई भएको हो ।

४) गाउँपालिका अध्यक्षले उपाध्यक्षलाई जिम्मेवारीविहिन बनाएर राखेको, अध्यक्ष र उपाध्यक्षकाबीचमा बोलचाल नै नभएको भन्ने जस्तो घृणित र कपोलकल्पित समाचारमा पनि कुनै सत्यता रहेको छैन । संविधान, ऐन तथा नियमहरूले नै स्थानीय तहका अध्यक्ष र उपाध्यक्षको जिम्मेवारी तोकिएको सर्वविदितै छ । जनप्रतिनिधीहरूको काम, कर्तव्य र अधिकार संविधान, ऐन तथा नियमहरूले स्पष्ट पारेको अवस्थामा कुनै जनप्रतिनिधीलाई जिम्मेवारी विहिन बनाउन सक्ने अवस्था नै नरहेको हुँदा अध्यक्ष र उपाध्यक्ष जस्तो संवैधानिक पदमा रहेका पदाधिकारीकाबीचमा फुट ल्याउने कुटिल मनसायले लेखिएका भ्रामक समचारप्रति हाम्रो गम्भिर आपत्ति छ र आगामी दिनमा यस किसिमका कपोलकल्पित र भ्रामक समचार प्रकाशन तथा प्रसारण नगर्न ध्यानाकर्षण गराउन चाहन्छौ ।

५. कर्मचारी साझा सम्पत्ति भएकाले कर्मचारीहरूलाई आस्था र विचारका आधारमा काखा र पाखा गरिएको भन्ने समाचारमा पनि कुनै सत्यता रहेको छैन । कर्मचारीलाई प्रदान गरिएका सेवा सुविधा तथा जिम्मेवारीहरूमा कहिँ कतै भेदभाव गरिएका घटनाहरू देखाउन चुनौति पनि दिन चाहन्छौं । बरू हालका दिनहरूमा केहि जिम्मेवार कर्मचारीहरूबाट अनेकन बहाना देखाई असहयोग गर्ने, जिम्मेवारीबाट पन्छिने, कार्यालयको कामकारवाहीलाई बेवास्ता गर्दै घुम्न निस्कने खालका व्यवहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आगामी दिनमा कर्मचारीहरूलाई पनि यस किसिमका गैरजिम्मेवारपूर्ण क्रियाकलाप नगर्न सचेत गराउन चाहन्छौं । पटक पटक यस किसिमका क्रियाकलाप दोहिएको खण्डमा कानूनी कार्वाहीको प्रक्रियामा अघि बढ़ने कुरामा पनि सचेत तुल्याउन चाहन्छौं ।

प्रकाशित समाचारमा कुनै सत्यता नभई केवल चरित्र हत्या गर्ने, जनप्रतिनिधिकाबीचमा फुट ल्याउने गरी समाचार प्रकाशित गरिएकोले यस्ता भ्रामक समचारप्रति विश्वास नगर्न र सुशासन, मितव्ययिता, पारदर्शिता र सीमित श्रोत र साधनको सही व्यवस्थापन गरी ‘समृद्ध दंगीशरणःसुखी दंगीशरणवासी’ को मूल नारालाई व्यवहारमा उतार्ने हाम्रो अठोटमा साथ दिन आम दंगीशरणवासी आदरणीय दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौं ।

साथै उक्त समाचारप्रति नेपाल निजामति कर्मचारी संघ स्थानीय कार्यसमिति दंगीशरण गाउँपालिकाले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष टेकबहादुर खत्री र सचिव बालकृष्ण भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको प्रचलित कानुनले गरेको व्यवस्था अनुसार नै प्रदान गरिएका जिम्मेवारीको विषयलाई नेपाल निजामति कर्मचारी युनियन र नेपाल स्वास्थ्यकर्मी संघका पदाधिकारी र जनप्रतिनिधिलाई अनर्गल लाच्छना लगाउने कार्य भएको भन्दै विरोध जनाएका हुन ।

प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *