काठमाडौँ,फागुन १३ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट खेल्नका लागि विदेश जान पाउनु पर्ने माग राख्दै गरेको निवेदनमा सर्वोच्चले आइतबार मात्र टुंगो गर्ने भएको छ।
न्यायाधीश ईश्वरीप्रसाद खतिवडाले सन्दीपले दिएको निवेदनलाई आइतबार सरकारी वकिलले दायर गरेको अर्को मुद्दासँगै राखेर पेश गर्न अग्रधिकार सहित आदेश गरेका छन्।
पाटन उच्च अदालतले राखेका सर्तहरू विरुद्ध बिहीबार दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले सन्दीपलाई तत्काल युएई जान भने अनुमति दिएन।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको इजालासमा भएको बहसमा सन्दीपका वकिल सरोजकृष्ण घिमिरे र शम्भु थापाले बहस गरेका थिए।
नाबालिका बलत्कार आरोपमा पक्राउ परेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले १८ असोजमा पुर्पक्षका लागि थुनामा पठाएपछि उनले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए।
जसको सुनुवाइ गर्दै पाटन उच्च अदालतले गत २८ पुसमा विभिन्न सर्तसहित उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजालासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएका थिए।
साथै उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा हुने विश्वकप लिग-२ को खेलमा सन्दीपको सहभागिता रोकिएको थियो। उनी बिहीबार घोषित नेपाली राष्ट्रिय टिममा समावेश छैनन्।
सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका थिए। त्यस्तै सरकारी वकिल पक्षले पाटन उच्च अदालतको धरौटीमा छाड्ने आदेशविरुद्ध दर्ता गरेको पुनरावेदनको पेसी पनि शुक्रबार नै तोकिएको थियो।
न्यायाधीशद्वय प्रकाशकुमार ढुंगानका र हरिकुमार फुयाँलको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी ३३औं नम्बरमा रहे पनि उक्त पेशी भने हेर्न नभ्याइनेमा परेको थियो।
यस मुद्दालाई पनि न्यायाधीश खतिवडाले सँगै राखेर पेश गर्न आदेश गरेका हुन्।