काठमाडौँ,फागुन ८ । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने पाटन उच्च अदालतले लगाएका सर्तविरुद्ध सर्वोच्च जाने भएका छन्।
काठमाडौँ जिल्ला अदालतले उनलाई १८ असोजमा पुर्पक्षका लागि थुनामा पठाएपछि उनले पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए।
जसको सुनुवाइ गर्दै पाटन उच्च अदालतले गत २८ पुसमा विभिन्न सर्तसहित उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
न्यायाधीशहरू ध्रुवराज नन्द र रमेह ढकालको संयुक्त इजालासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो।
धरौटीमा छुटेपछि सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिममा राखेको थियो। उनले कीर्तिपुरमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा तीन खेलमा ९ विकेट लिइसकेका छन्।
अब स्कटल्यान्डसँग मंगलबार जारी घरेलु सिरिजको अन्तिम खेल खेल्दैछ। अब नेपालले विश्वकप क्रिकेट लिग- २ अन्तर्गत नै २७ फेब्रुअरीदेखि ३ मार्चसम्म दुवैमा पपुवा न्युगिनी, युएई र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेल्दैछ।
उक्त सिरिजमा सन्दीप जान पाउने छैनन्। उनलाई पाटन उच्च अदालतले विदेश जान रोक लगाएको छ। सोहीविरुद्ध सन्दीप सर्वोच्च जान लागेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए।
‘हामी सन्दीपलाई विदेश जान रोक नलगाउन र धरौटी रकम नलिनलगायत विषय समेटेर सर्वोच्चमा मुद्दा दर्ता गर्ने तयारीमा छौँ’, उनले भने, ‘आज दर्ता गरिएको छैन। म काठमाडौँ बाहिर भएकाले सोमबार साँझसम्ममा काठमाडौँ फर्किएपछि प्रक्रिया अघि बढाउँछु।’
यसअघि सर्वोच्चमै सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित गत १९ माघमा निवेदन दर्ता भएको थियो।
नेपाल सरकारको तर्फबाट नायव महान्यायाधीवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पूर्पक्ष गर्नुपर्ने उल्लेख छ।
निवेदनमा लामिछानेले प्रमाण नष्ट गर्न सक्ने पनि आशंका व्यक्त गरिएको छ। सर्वोच्चले उक्त मुद्दामा पाटन उच्च अदालतको आदेशको कागजात झिकाउन आदेश दिएको छ।