२०८१ बैशाख ११ गते मङ्गलवार

महाशिवरात्रिमा पशुपति आएका साधुसन्तको बिदाइ गरिदैं

काठमाडौँ ,फागुन ८ । महाशिवरात्रिका लागि पशुपति आएका साधुसन्तको बिदाइ आज हुँदैछ ।

बिहान ११ बजेपछि पशुपति प्राङ्गणबाट बिदाइ गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका प्रवक्ता रेवती रमण अधिकारीका अनुसार ४ हजारभन्दा धेरै साधु सन्तको बिदाइ गरिँदै छ ।

शिवरात्रिका लागि पशुपति आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सय रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म दक्षिणा दिइन्छ ।
भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।

साधुसन्तको दक्षिणाका लागि ८ देखि १० लाख रुपैयाँ छुट्टाइएको पनि कोषले जनाएको छ । पोहोर र परारको तुलनामा यसपालि पशुपतिमा आउने साधुसन्तको सङ्ख्या बढेको कोषले जनाएको छ । यस्तै, महाशिवरात्रिका अवसरमा पशुपतिमा सङ्कलन भएको भेटीको गणना सुरु भएको छ ।

हिजोदेखि भेटी गन्न थालिएको र गणना सक्न अझै ५–६ दिन लाग्ने कोषले जनाएको छ । यसपालि १५ लाख रुपैयाँ भेटी सङ्कलन भएको हुन सक्ने अनुमान गरिएको छ ।

अस्ति शनिवार परेको महाशिवरात्रिमा १५ लाखभन्दा धेरै भक्तजन पशुपति मन्दिर पुगेका र सात लाख जनाले मूल मन्दिरको नै दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *