काठमाडौँ ,फागुन १ । नेपाल सरकारले टर्कीलाई राहत सामग्री हस्तान्तरण गरेको छ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले टर्की एयरलाइन्सका जनरल म्यानेजर सर्कन बसारलाई उक्त राहत सामग्री हस्तान्तरण गरेकी हुन्।
आज बिहान ११ बजे टर्की एयरलाइन्सबाट भूकम्पपीडितका लागि राहत सामग्री पठाउन लागिएको हो। सामग्री शुक्रबार नै पठाउने भनिएको थियो। तर, टर्कीले क्लियरेन्स दिन समय लगाएपछि ढिला भएको हो।
विभिन्न संघसंस्थाको समन्वयमा नेपाल सरकारले राहत सामग्री पठाउन लागेको हो। राहतमा टेन्ट, न्यानो कपडा, औषधी, स्वास्थ्य उपकरणलगायतका सामग्री छन्।
सामग्रीको कुल तौल २२ हजार ७८७ केजी रहेको छ। १९ वटा पल्लेटमध्ये आज ३ वटामात्र पठाइने परराष्ट्रले जनाएको छ।
टर्की सरकारले यी सामग्री तत्काल आवश्यक रहेको बताएको थियो।
प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार