दाङ, माघ १७। दाङको बंगलाचूली गाउँपालिकामा भूमिहीन सुकुम्बासीको लगत सङ्कलन गरिने भएको छ ।
गाउँपालिकाभित्र वडाहरूमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन लागि लगत सङ्कलन गर्न लागिएको हो ।
हालसम्म पनि भूमिहीन दलित सुकुम्बासीहरूको व्यवस्थित बसोबास नभएको भन्दै उनीहरूको लगत सङ्कलन गर्न लागिएको हो ।
गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरले गाउँपालिकाको वडाहरूमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको यकिन विवरण सङ्कलन छिटोभन्दा छिटो सक्ने गरी काम अगाडि बढाउन सम्पूर्ण वडाका अध्यक्षहरूलाई निर्देशन दिए ।
उनले जिल्लाका अन्य स्थानीय तहमा भूमिहीनहरूलाई जग्गा वितरणको कामसमेत थालिसक्दा पनि बंगलाचुलीमा यसको व्यवस्थित कार्य प्रगति नहुनु दुखद् भएकोसमेत बताए ।
उनले अबको केही दिनभित्र गाउँपालिकाभित्रका वडाहरूमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरेर एकिन विवरण ल्याउन वडाका अध्यक्षहरूलाई आग्रह गरे ।
उनले भने, ‘संविधानले नै व्यवस्था गरेको कुरालाई हामीले बेवास्ता गर्नु हुँदैन । सबैले यसलाई गम्भीरताका साथ लिएर हरेक वडामा रहेका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी नछुट्ने गरी लगत सङ्कलन गरी समयमै पूर्जा वितरण गर्नुपर्छ । उनले भने– ‘तसर्थ आजैका मितिदेखि सबैले यो काम सम्पन्न गर्नतर्फ लागौँ ।’
गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग दाङले आइतबार गाउँपालिकाका जनप्रतिनिधिहरूसँग गरेको एक दिने अभिमुखीकरण गरेको थियो ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोग दाङका जिल्ला अध्यक्ष लेखराज सिंहले गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण समयमै सङ्कलन गरेर जिल्लामा सिफारिस गर्न अनुरोध गरे ।
उनले गाउँपालिकाका सबै वडामा कोही पनि जग्गाविहीन नहुने गरी कामलाई अगाडि बढाउन अनुरोध गरे ।