२०८१ चैत्र ३ गते आइतवार

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय बेडमा स्तरोन्नति हुने

बुटवल ,असोज ११ । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो ।


एशोशिएशन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) ईन्टरनेशनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्न निर्णय गरेको हो ।


आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ (साविक वडा नं. ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्थापना गरिएको थियो । पचास शैयाबाट सुरु भएको उक्त अस्पताल हाल सय शैयामा सञ्चालन गरिएको छ ।


अस्पतालका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई ३ सय बेडको बनाउने र विशिष्टिकृत सेवा प्रवाह गर्ने निर्णय गरेको बताए ।


अस्पतालको स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिका, आम्दा र बुटवल उद्योग वाणिज्य संघले पहल गर्ने गरी समझदारी भएको उनले बताए । उनले महिला र बालबालिकाको स्वास्थ्य उपचारमा सबै खालका सुविधासहितको अस्पतालका रुपमा स्तरोन्नति गर्ने बताए ।


समझदारीका क्रममा आम्दा ईन्टरनेशनलका अध्यक्ष डा सिगेरू सुगानामीले आम्दाले बुटवलमा अस्पताल स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने बताए । उनले अस्पतालमा बेड थप गर्ने मात्रै नभई अन्य सुविधा थप गर्ने गरि त्रिपक्षीय सहकार्य हुने बताए ।


आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासले आम्दाले बुटवलको अस्पताललाई स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने र श्रोत तय गर्नका लागि भूमिका निर्वाह गर्ने बताए ।


अस्पतालको अर्को साझेदार संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले अस्पताल स्तरोन्नति गर्न आवश्यक रहेको र संघले पर्याप्त भूमिका निर्वाह गर्ने बताए । उनले अस्पतालको स्तरोन्नति भएपछि बुटवल क्षेत्रमा एउटा विशिष्टीकृत सेवा भएको स्तरीय अस्पताल हुने बताए ।


यस्तै, आम्दा इन्टरनेशनलका अध्यक्ष सुगानामीलाई बुटवल उपमहानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।
आम्दाका अध्यक्ष सुगानामी, आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास, पूर्व अध्यक्षहरू डा. सरोज ओझा, डा. दिनेश पोखरेल तथा आम्दा ईन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी र आम्दा नेपालका प्रमुख प्रशासकीय अधिकृत सुदेश रेग्मीसहितको टोलीलाई उपमहानगरपालिकाले सम्मान गरेको हो ।


सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आम्दा इन्टरनेशनलसँगको सहकार्यमा बुटवलमा देशकै स्तरीय अस्पताल बनाउने गरी काम हुने बताए । कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले महिला तथा बालबालिकाको उपचारका लागि स्तरीय अस्पताल बनेपछि बुटवल र आसपासका बिरामी अन्यत्र जानु नपर्ने बताए ।


आम्दा इन्टरनेशनलका अध्यक्ष डा सिगेरू सुगानामीले बुटवलले अस्पताललाई स्तरोन्नति गर्ने राम्रो अवसर पाएको र त्यसको सदुपयोग गर्न लागेकोमा खुशी व्यक्त गरे ।


आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासले आम्दा नेपालले बुटवललाई विशेष प्राथमिकतामा राखेको र बुटवलले अन्यत्रका अस्पताल भन्दा राम्रो अस्पताल स्थापना गर्न लागेकोमा सहकार्यका लागि तयार रहेको बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलको गौरवका रुपमा रहने बताए ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *