पाल्पा,असोज ३ । अस्पतालमा उपचारको क्रममा पाल्पामा एक डेंगु संक्रमित बिरामीको मृत्यु भएको छ।
गत भदौ २७ गते उपचारको लागी तानसेन मिसन अस्पतालमा भर्ना भएका रिव्दीकोटा गाउँपालिका( १ ख्याहाका ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
पाल्पामा भदौ महिनामा मात्र १ सय २१ र श्रावण महिनामा २३ जना गरी दुई महिनाको अवधिमा १ सय ४४ जना डेंगुका बिरामी पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा २७ जना मात्र पाल्पामा डेंगुका बिरामी भेटिएका थिए। पाल्पामा डेंगुका बिरामीको संख्या अझै धेरै रहेको भएपनि अस्पतालहरुमा डेंगु चेकजाँच गर्ने किट अभाव हुँदा सबैले परीक्षण गर्न नपाएको गुनासो सर्वसाधारण बिरामीले गरेका छन्।
पाल्पामा लुम्विनी मेडिकल कलेज, मिशन अस्पताल लगायत निजी मेडिकल क्लिनिकहरुले डेंगु परिक्षण गर्दै आएका छन्। ५० बेडको स्विकृति पाएका पाल्पाका दुई ठूला सरकारी अस्पताल पाल्पा अस्पताल र रामपुर अस्पतालमामा भने डेंगुको ल्याब नहुँदा परीक्षण गर्न सर्वसाधारणले महङ्गो शुल्कमा निजी अस्पतालमा धाउनु परेको छ।
तराईका जिल्ला रुपन्देही, कपिलबस्तु र नवलपरासी जिल्लासँग सिमाना जोडिएको, भारतसँगको खुला सिमानाको कारण पनि यस वर्ष पाल्पामा डेंगुका बिरामीको संख्यामा वृद्धि भएको हो।