२०८२ असार ५ गते शुक्रवार

बिमा समितिको प्रादेशिक कार्यालय स्थापना

सुर्खेत,भदौ १६ । सुर्खेतमा बिमा समितिको प्रादेशिक कार्यालयको स्थापना गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज बीमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन गरेका छन् ।

समितिले गत असार एक गतेदेखि नै कार्यालय सञ्चालनमा ल्याएतापनि औपचारिक रूपमा भने आजदेखि शुभारम्भ भएको छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बीमा कम्पनीहरू सहर केन्द्रित भएको भन्दै यसलाई दुरदराजसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।

क्षति न्यूनीकरण गर्न बीमाको सुरुवात भएको भन्दै सरकारले यसलाई व्यवस्थित गर्ने योजना अघि सारेको शर्माले बताए ।

प्रदेश कार्यालयलाई धेरै अधिकार दिएकोले अब कर्णाली प्रदेशमा पनि बीमा समितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको उनको भनाइ थियो ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्ण नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री लगायतको उपस्थिति थियो ।

समितिले एकै पटक तीन वटा प्रादेशिक कार्यालयको स्थापना गरेको छ । जसमध्ये औपचारिक रूपमा पहिलो उद्घाटन कर्णाली प्रदेशमा गरिएको हो ।

प्रादेशिक कार्यालयले कर्णाली प्रदेशभरिका अभिकर्तालाई लाइसेन्स दिने तथा तालिम दिनेछ । त्यस्तै सर्भेयरको लाइसेन्स नवीकरण पनि गर्न पाउनेछ ।

बीमितले प्रादेशिक कार्यालयमा आफ्ना गुनासो राख्‍न पाउनेछन् । उनीहरूको गुनासोलाई प्रादेशिक कार्यालयले नै सहजिकरण गर्न पाउनेछ ।

समितिको प्रादेशिक कार्यालयले यस क्षेत्रभित्र रहेका बीमा कम्पनीका शाखा कार्यालयको नियमन र सुपरिवेक्षण गर्नुका साथै कम्पनीहरूले के–के गरिरहेका छन् भन्‍ने प्रत्यक्ष सुपरिवेक्षण गर्नेछ ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *