२०८२ असार ७ गते आइतवार

बञ्चरेडाँडामा अवरोध कायमै,आज पनि प्रहरी लगाएरै फोहोर फाल्ने तयारी

काठमाण्डौ,भदौ १ । काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापन हुने ठाउँ बञ्चरेडाँडामा स्थानीयबासिन्दाको अवरोध कायमै छ ।

हिजो जस्तै आज पनि अवरोधकैबीच प्रहरीको बलमा फोहोर फाल्ने तयारी भैरहेको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पर्ने धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर १ का बासिन्दाको अवरोधका कारण हिजो फोहोर बोकेका केही गाडी बाटोमै रोकिएका थिए ।

बाटोमै रोकिएका ती गाडीलाई आज प्रहरीको स्कर्टिङमा बञ्चरेडाँडामा पुर्‍याइने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

तर स्थानीयबासिन्दाको अवरोध रहेकाले फोहोरका गाडीलाई बञ्चरेडाँडासम्म पुर्‍याउन चुनौती छ । हिजो फोहोरका गाडीलाई लैजाने क्रममा स्थानीयबासिन्दा र प्रहरीबीच झडप समेत भएको थियो । झडपमा परेर त्यहाँका कमल तामाङ घाइते भएका छन ।

उनको अहिले काठमाण्डौमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको धुनिबेशी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार सडक मर्मतको काम पूरा नगरी फोहोर लैजान थालिएको र फोहोर बोक्ने गाडीमा लिच्चड ट्याङ्की अर्थात् फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको भन्दै स्थानीयबासिन्दाले आन्दोलन गरेका हुन् ।

फोहोर र त्यसबाट निस्कने लिच्चडले गाउँ नै दुर्गन्धित पारेको वडा अध्यक्ष तामाङले बताए । यसअघि लिच्चड बग्न नदिने, फोहोरलाई पुर्ने, दुर्गन्ध फैलिन नदिन औषधि छर्कने जस्ता सम्झौता भए पनि त्यो पालना नभएको तामाङले बताए ।

स्थानीयबासिन्दाको अवरोधकै बीच हिजो काठमाण्डौ महानगरपालिकाले १ सय ९० वटा गाडीलाई बञ्चेडाँडा पुर्‍याइएको थियो । स्थानीयबासिन्दाले अवरोध नगरे आज २ सय ५० वटा गाडी बञ्चरेडाँडामा पुर्‍याउने तयारी छ ।

लामो समयदेखि फोहोर नउठ्दा काठमाण्डौ उपत्यकामा दुर्गन्ध फैलिन थालेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *