२०८२ चैत्र १ गते आइतवार

कर्णालीमा तीन वर्षमा नौ सय २९ दुर्घटना

सुर्खेत,साउन १८ । कर्णाली प्रदेशमा वर्षेनी सवारी दुर्घटनाहरु बढ्दै गएको पाइएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशको तथ्यांकअनुसार तीन वर्षको अवधिमा ९ सय २९ वटा दुर्घटना भएका छन् ।

कार्यालयको तथ्यांक अनुसार २०७६/०७७ मा दुई सय ३६, २०७७/०७८ मा २९१ र २०७८/०७९ मा यो संख्या बढेर चार सय दुई पुगेको छ ।

यसरी बढी दुर्घटना हुने सवारी साधनमध्ये मोटरसाईकल अगाडि देखिएको छ । त्यसैगरी ट्रक, बस र जिप तथा अटो रहेको कार्यालयले जनाएको छ ।


सबैभन्दा बढी दुर्घटनाको कारण भने तीव्र गति तथा यान्त्रिक, ट्राफिक नियम उल्लंघन, सडकको अवस्था र लापरवाहीको कारणहरु देखिएको प्रदेश ट्राफिक कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । त्यसैगरी यहाँका साँघुरा सडकका कारण पनि दुर्घटनाको प्रमुख कारण बनेको पाइन्छ ।

यस अवधिमा सवारी दुर्घटनाका कारण कर्णालीका झण्डै चार सय कर्णालीवासीले ज्यान गुमाएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षको अवधिमा तीन सय ९२ जनाले ज्यान गुमाएका छन् ।

जसमा दुई सय ६८ जना पुरुष र ७७ जना महिला रहेका छन् भने २५ बालक र चार बालिकाले ज्यान गुमाएका छन्।

प्रदेशको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने तिवारीको भनाई छ । त्यसैगरी ट्राफिक सचेतनात्मक कार्यक्रमहरुलाई नियमित प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *