२०८२ चैत्र २ गते सोमवार

पहिरोमा परेर पोखरामा एक जनाको मृत्यु,सय घर डुबानमा

पोखरा, साउन १६ । पोखरा महानगरपालिका– ६ डिहिगोपाटनमा पहिरोले घरको कोठा पुरिँदा एक जनाको मृत्यु भएको छ।

गएराति घर पछाडिबाट झरेको पहिरोले स्थानीय लक्ष्मी खड्काको ब्लकले बनाएको घर पुरिएको थियो।

पहिरोले घर पुरिँदा कोठा भाडामा बस्दै आएका माछापुच्छ्रे गाउँपालिका– १ का तातोपानीका २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको कास्की प्रहरीका इन्सपेक्टर ज्ञानबहादुर खड्काले जानकारी दिए।

सोही कोठामा बसेका सन्तोषकी दिदी सुनिता सुनार घाइते भएकी छिन् भने उनका छोरा १० वर्षीय सिम्रन सुनार सकुशल रहेका छन्।

मध्यरात करिब २ बजेतिर पहिरोले घर पुरिएको थाहा पाएपछि प्रहरी टोली उद्धारमा खटिएको थियो।

पहिरोमा परेका सन्तोषलाई उपचारका लागि प्रहरीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो। इन्सपेक्टर खड्काका अनुसार अस्पतालका चिकित्सक टोलीले सन्तोषको मृत्यु भइसकेको जनाएका थिए।

घाइते सुनिताको गण्डकी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

आइतबार साँझदेखि परेको अविरल वर्षाले पोखरा– १३ कमलपोखरीमा घरहरू डुबानमा परेका छन्। घरहरू डुबानमा परे पनि मानवीय क्षती नभएको वडा अध्यक्ष किरण बरालले बताए।

उनका अनुसार डुबानमा परेका घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *