काठमाण्डौ ,साउन ३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताएका छन ।
आज मङ्गलवार मन्त्रालयमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकारभित्रको यातायात व्यवस्थापनको विषयमा भएको छलफलपछि बोल्दै मन्त्री राईले यस्तो बताएका हुन । उनले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटबारे अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन केही दिनमा नै आउने बताए ।
मन्त्री राईले समितिको प्रतिवेदन आएपछि स्मार्ट ड्राइभिङ लाइसेन्सको समस्या समाधानका लागि सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बीनीमा दुई र प्रदेश १ र मधेश प्रदेश लगायतका सबै प्रदेशमा एकरएक ठाउँमा गरी स्मार्ट लाइसेन्स छपाइ गर्ने बताए ।
सबै प्रदेशमा स्मार्ट लाइसेन्स छपाइको मेशिन राखेर सम्बन्धित प्रदेशले नै लाइसेन्स छाप्न सक्ने व्यवस्था गर्ने उनको भनाइ छ ।
मन्त्री राईले भने, ‘म भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएर आएको १५ दिन भएको छ । स्मार्ट लाइसेन्सको समस्या तत्कालै समाधान हुन्छ । इम्बोस्ड नम्बर प्लेटको बारेमा एकरदुई दिनमा नै सुखद समाचार सुन्न पाउनु हुनेछ ।’
सबै गाडीमा जीपीएस प्रणाली जडान गरी जथाभाबी चलाउने, सुरक्षित गन्तव्यमा पुग्ने गरी निगरानी गर्न सक्ने संयन्त्र बनाउने मेयर साहको चाहना देखिएकाले मन्त्रालयले कानुनी रूपमा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता आफूले जनाएको मन्त्री राईको भनाइ छ ।
मन्त्री राईले काठमाण्डौ महानगरपालिका क्षेत्राधिकारभित्रका सडकलाई अब बन्ने ऐनमा महानगर मातहतमा नै रहने व्यवस्था गर्ने तयारी भएको जानकारी पनि मेयर साहलाई दिएको बताए ।
उनले तत्कालका लागि काठमाण्डौ उपत्यकाभित्र चार सय किलोमिटर मन्त्रालयको क्षेत्राधिकार भित्र पर्ने भएकाले त्यसमा ढल निकासाको समस्या भए सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए ।