२०८२ चैत्र १ गते आइतवार

तिलोत्तमामा जग्गा नापजाँचको काम शुरु

बुटवल,असार २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका भूमिहीन सुकुम्बासीको जग्गा नापजाँचको काम शुरु भएको छ ।

भूमि आयोगले तिलोत्तमाको वडा १३ करौजियाबाट जग्गा नापजाँचको काम शुरु गरेको हो ।

जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरणहरु तिलोत्तमा नगरपालिकाले सहयोग गर्ने भएपछि आयोगले तिलोत्तमामा रहेको अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी जग्गाको नाप जाँचको काम शुरु गरेको आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले बताए ।

केही महिनाभित्रै नापजाँचलगायतका सबै प्रक्रिया पूरा गरेर नगरबासीलाई पूर्ण वितरण गरिने निरौलाको भनाइ छ ।

भूमिहीन तथा सुकुम्बासी समस्या सदाका लागि अन्त्य गर्ने सरकारको लक्ष्य रहेकाले सो लक्ष्य प्राप्तिका लागि अयोगले परिणाम देखिने गरी काम गर्न उनको आग्रह छ ।

ऐन नियम र कानुनको परिधिभित्र रहेर परिणाम देखिनेगरी काम गर्न केन्द्रीय अध्यक्ष निरौलाले मातहतका पदाधिकारी र कर्मचारीलाई निर्देशन दिए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले अव्यवस्थित बसोवासी तथा भूमिहीन, सकुम्बासीको समस्या समाधान गरी नगरवासीलाई सम्पत्तिको स्वामित्व प्रदान गर्ने कामलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताए ।

योगको कामलाई नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रमुख खाणले जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको व्यवस्थापन नगरपालिकाले गर्ने बताए ।

उनले भने– ‘जग्गा नापजाँचका लागि आवश्यक पर्ने नापी सर्वेक्षक तथा तीनका लािग आवश्यक पर्ने उपकरण तथा सामग्री व्यवस्थापनको आवश्यक तयारी अगाडि बढिसकेको छ, शुक्रबारदेखि शुरु भएको काम छिटै सकिनेछ ।’

जग्गा नापजाँचका लागि वडामा खटिने सम्बन्धित कर्मचारीहरुलाई समन्वय र सहयोग गर्न उनले वडाका जनप्रतिनिधि र स्थानीयबासीलाई आग्रह गरे ।

सुकुम्बासी समस्या समाधानसँगै सार्वजनिक जग्गाको संरक्षणमा पनि नगरपालिकाले ठोस योजनासहित काम गरेको उनको भनाइ छ ।

भूमि आयोगका रुपन्देही अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले रुपन्देहीका १० वटा पालिकामा आयोगले जग्गा नापजाँचको काम सुरु गरेको जानकारी दिए ।
आयोगले काम सुरु गरेका पालिकामध्ये देबदहबाट साउनको पहिलो सातादेखि पुर्जा वितरण कार्य सुरु हुने छ ।

भूमि आयोग रुपन्देहीका सदस्यसचिव तथा रुपन्देहीका नापी अधिकृत कृष्णप्रसाद सापकोटाले स्थानीय तहहरुले गरेको तथ्याङ्क सङ्कलनको अध्ययन गरेर नापनक्सा गरी पुर्जा वितरण गरिने जानकारी दिए ।

आयोग रूपन्देही कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी बुटवल उपमहानगरमा १५ हजार ४ सय ३, देवदहमा १४ हजार ३ सय ४३, सैनामैनामा १३ हजार, कञ्चनमा १२ हजार ६ सय ८६, गैडहवामा ८ हजार ९ सय १५, तिलोत्तमामा ७ हजार ७ सय ३२ र मायादेवी गाउँपालिकामा ७ सय १६ गरी ७२ हजार ७ सय ९५ भूमिहीन तथा अव्यवस्थित बसोबासी छन् ।

जिल्लामा करिब ७२ हजारको हाराहारीमा अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी रहेको तथ्याङ्क छ ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *