सिन्धुली,असार २४ । पूर्वमन्त्री कृपाशुर शेर्पासहित एमाले नेता चढेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जसमध्ये ३ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
काठमाडौंबाट प्रदेश १ को सुनसरीका लागि छुटेको बा २ च ९००३ नम्बरको ल्यान्ड क्रुजर मदन भण्डारी राजमार्ग खण्डमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १४ चन्दनपुरमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।
गाडी दुर्घटनामा घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टर पठाइएको सिन्धुली प्रहरीका एसपी विमलराज कँडेलले जानकारी दिए ।
दुर्घटनामा एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री शेर्पा, पेम्बा गुरुङ, देवराज राई, गणेश थापा घाइते भएका छन् । घाइतेमध्ये पेम्बा गुरुङ, देवराज राई र गणेश थापाको अवस्था गम्भीर रहेको एसपी कँडेलले जनाए ।
उनीहरु नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको विस्तारित बैठकमा जाने क्रममा दुर्घटना भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।