चितवन,असार १४ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा बाघको आक्रमणबाट चालु आर्थिक वर्षमा १६ जनाको मृत्यु भयो । राष्ट्रिय निकुञ्ज क्षेत्रको यो घटना संख्या अघिल्लो वर्षको तुलनामा १० ले बढी हो ।
मध्यवर्ती क्षेत्रमा मात्रै चालु आर्थिक वर्षमा १३ जनाको ज्यान बाघले लिएको छ । ती १३ जनाका परिवारलाई क्षतिपूर्ती स्वरूप १ करोड ३० लाख रकम दिएको निकुञ्जले जनाएको छ ।
पूर्वी र पश्चिमी चितवनको राष्ट्रिय वन तथा मध्यवर्ती क्षेत्रमा मानिसमाथि बाघको आक्रमण बढ्दै जाँदा संरक्षणकर्मीहरु भने बाघको संख्या बढेको संकेत देखिएको भन्दै उत्साहित छन् ।
निकुञ्जको तथ्यांकअनुसार चालु आवमा मध्यवर्ती क्षेत्रमा मात्रै बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । १ जनाको निकुञ्जको कोर क्षेत्रमा र २ जनाको डिभिजन वनको क्षेत्रमा आक्रमणमा परेर मृत्यु भएको छ ।
बुढा हुँदै गएका बाघहरुको बासस्थान रहेको मध्यवर्ती क्षेत्रमा यस्ता घटना बढी छन् ।
मालिका सामुदायिक वन मेघौलीका अध्यक्ष मोतीप्रसाद भुसाल निकुञ्ज र वन कार्यालयले आक्रामक वन्यजन्तु नियन्त्रण सम्बन्धी प्रभावकारी काम नगर्दा मानिसमाथि खतरा बढेको बताउँछन् ।
यसैबिच मध्यवर्ती क्षेत्र र विभिन्न वन क्षेत्रमा मानिसलाई आक्रमण गरेर ज्यान लिने बाघलाई नियन्त्रणमा लिएर राख्ने काम चितवन राष्ट्रिय निकुञ्जले गर्दै आएको छ ।
निकुञ्जको मुख्यालय कसरामा २ र सौराहामा २ वटा बाघलाई नियन्त्रणमा लिएर खोरमा थुनेर राखिएको छ ।
असार २ गते र जेठ २७ गते मानिसको ज्यान लिने बाघलाई नियन्त्रणमा लिएर सौराहामा राखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
उनका अनुसार, ती दुबै आक्रमण एउटै बाघले गरेको थियो । गत वैशाख १६ गते कोल्हवी ४ बाराका रमेश चौधरीको ज्यान लिने बाघलाई वैशाख २१ गते नियन्त्रणमा लिइयो ।
चारवटै खोर बाघले भरिएका छन् । अर्को नरभक्षी बाघ थुन्नुपर्ने अवस्था आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर निकुञ्जले खोर तयार गरिरहेको छ ।
बाँकेमा पाँच जना मार्ने बाघलाई पनि नियन्त्रणमा लिएर सौराहामै ल्याएर राखिएको छ । एउटा बाघलाई दैनिक पाँचदेखि सात किलो मासु चाहिने निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।
उनका अनुसार, वन्यजन्तु उद्धार तथा व्यवस्थापन शीर्षकमा छुट्टनिे रकम र दाताहरूको सहयोगबाट बाघको लागि मासु जुटाउने गरिएको छ ।
नियन्त्रणमा लिइएका बाघलाई सकेसम्म जंगलमा छोडिदैन । बाघले आनीबानी परिवर्तन गर्न थालेपछि रेडियो कलर मेसिन जोडेर निकुञ्जको कोर क्षेत्रमा लगेर छाड्ने गरिन्छ ।