२०८२ चैत्र १ गते आइतवार

गायिका दिलमायाका परिवारले दिए सूर्यविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं, असार १३ । लोकदोहोरी गायिका दिलमाया बिकको मृत्यु भएको घटनामा पक्राउ परेका व्यक्तिविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ।

आइतबार प्रहरी वृत्त बालाजु पुगेर मृतकका परिवारले पक्राउ परेका सिन्धुपाल्चोक घर भई काठमाडौंमा सुन पसल सञ्चालन गरिरहेका सूर्य श्रेष्ठविरूद्ध जाहेरी परेको हो। मृतक दिलमायाका बुवाले आइतबार प्रहरी वृत्त बालाजु पुगेर जाहेरी दिएका थिए।

शनिबार बिहान ११ बजे काठमाडौंको तार्केश्वर नगरपालिका-११ स्थित साढे दुई तलाको घरको डेरामा दिलमाया मृत फेला परेकी थिइन्। घरबेटीले उनको कोठामा हेर्न जाँदा उनी मृत अवस्थामा फेला परेपछि प्रहरीलाई बोलाइएको थियो।

उनको फेसबुकबाट आत्महत्या गर्न लागेको भन्दै स्टाटस लेखे पनि घटना भने शंकास्पद देखिएको छ। दिलमायाको घाँटीमा निलडाम देखिएको छ। त्यसरी निलडाम देखिएपछि प्रहरीले सूर्यलाई पक्राउ गरेको हो।

पक्राउ परेका सूर्यले पनि प्रहरीलाई ढाँटेको पाइएपछि उनीमाथि थप शंका उत्पन्न भएको छ। उनीमाथि सोधपुछ गर्दा सुरूमा आफू घटना हुनुभन्दा अगाडि नै कोठाबाट निस्किएको बताए पनि पछि सिसिटिभी फुटेज हेर्दा दिलमायाले स्टाटस हालेको समयसम्म उनी त्यहीँ भएको खुलेको हो।

घटनास्थलबाट प्रहरीले दिलमायाको मोबाइल फोन पनि फेला पारेको छैन। जसकारण पनि घटना थप शंकास्पद बनेको छ।

प्रहरी वृत्त बालाजुले उनीमाथि सोमबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *