बाँके,असार १० । डुडुवा गाउँपालिका संस्थागत क्षमता स्वःमूल्याङ्कनमा राम्रो अंक ल्याएर यस वर्ष पनि बाँके जिल्लामै पहिलो भएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा गाउँपालिकाले ५९ अंक प्राप्त गरेको छ । स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन कार्यविधि २०७७ अनुसार डुडुवा गाउँपालिका जिल्लाकै पहिलो भएको हो ।
बाँकेका ८ वटै स्थानीय तहहरुको मुल्याकंनमा डुडुवाको सबै भन्दा बढी अंक आएको हो । जिल्ला समन्वय समिति बाँकेमा आयोजित एक कार्यक्रममार्फत मुल्याकनकर्ता चानक्य अधिकारीले जिल्लाका सबै पालिकाको अंकसहितको नतिजा घोषणा गरेका थिए ।
स्वमुल्याकंनका विषय क्षेत्रहरुमा पालिकाको शासकिय प्रवन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समाबेशीकरण, बाताबरण संरक्षण तथा विपत व्यवस्थापन र सहकार्य तथा समन्वय लगायत १० विषय क्षेत्र अन्र्तगत एक सय सूचकलाई विश्लेषण गरि अंक प्रदान गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए ।
उनका अनुसार स्वमुल्याकनमा अंक बढी आउनु भनेको कार्यालयको काम काज तथा प्रक्रिया व्यवस्थित रहेको देखाउछ ।
गतवर्ष पनि डुडुवाले स्वमूल्याङ्कनमा ६६.७५ प्रतिशत अंक प्राप्त गरि पहिलो भएको थियो ।