काठमाण्डौ,असार १ । आज वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार यी तीन प्रदेशका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना छ भने अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान गरिएको छ । गएराति पनि देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी परेको थियो ।
मनसुनमा पनि प्रि(मनसुनको जस्तो मेघगर्जन भइरहेको छ । नेपालमा गएको जेठ २२ गते प्रदेश-१ हुँदै मनसुन भित्रिएको थियो । अहिले प्रदेश(१ सहित वाग्मती, गण्डकी र मधेस प्रदेशमा मनसुन सक्रिय छ ।
लुम्बिनी प्रदेशमा मनसुनको आंशिक प्रभाव परेको छ । नेपालमा मनसुनी वायुसँगै अन्य प्रणालीको पनि प्रभाव रहेकाले ठूलो मेघगर्जन भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार अहिले मनसुनी वायु, स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी रेखाको प्रभाव नेपालमा परेको छ ।
तीन वटै प्रणाली मिश्रित भएकाले ठूलो मेघगर्जन हुने खालका बादल विकसित भइरहेको उनले बताए । देशभरी मनसुनी वायु सक्रिय भएको अहिलेको जस्तो ठूलो आवाजमा मेघगर्जन नहुने पनि उनले बताए ।
उनका अनुसार मनसुनमा मेघगर्जन र चट्याङ्ग नै नपर्ने भन्ने होइन । तर अहिलेकोे जस्तो ठूलो मेघगर्जन पनि हुने होइन । सामान्य खालका मेघगर्जन र चट्याङ्ग मनसुनमा पनि पर्छ मौसमविद् मानन्धरले भने ।
यसैबीच, ठूलो वर्षाको सम्भावना रहेकाले आज प्रदेश(१, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव र नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
खेतबारीमा काम गर्दा, खोला तर्दा तथा यात्रामा निस्किँदा सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका हुन् । यस्तै, पानी नपरेका ठाउँमा भने तापक्रम बढिरहेकाले गर्मीबाट जोगिने उपाय अपनाउन पनि मौसमविद्को सल्लाह छ।