काठमाडौँ,जेठ ५ । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो।
जैसीको साथबाट बरामद गरिएको ३४९ दशमलव ७०० ग्राम सुन हालको बजार मूल्यअनुसार रु. २८ लाख ८७ हजार १८२ रकम बराबरको रहेको १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताए।
पक्राउ गरिएका जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार