२०८१ जेष्ठ ११ गते शुक्रवार

पुल बनाउँदै गर्दा त्रिशूली नदीमा खसेकामध्ये थप दुई जनाको ज्यान गयाे

चितवन,बैशाख १६ । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुलको निर्माणका क्रममा पुलसँगै त्रिशूली नदीमा खसेकामध्ये थप दुई जनाको ज्यान गएको छ ।

बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ भने अर्का एक जनाको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।

वैशाख १२ गते पुलको ट्रस मिलाउने क्रममा ट्रससँगै नदीमा खसेर एक मजदुरको ज्यान गएको थियो भने दुई जना बेपत्ता भएका थिए । नदीमा खसेका मध्ये ८ जना घाइते भएका थिए ।

बेपत्ता भएका सुजित माझीको शव घटनास्थलबाट नौ सय मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा फेला परेका वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए । अर्का बेपत्ता मजदुर श्यामबाबु पाठकको खोजी कार्य अझै जारी रहेको उनले बताए ।

काम गर्दागर्दै पुलबाट खसी घाइते भएर अस्पतालमा उपचाररत विजय यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भारत बेतिया पश्चिम चम्पारण बस्ने ४३ वर्षीय यादवको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिए ।

घाइते हुनेहरुमा भारत बेतियाका मुन्ना चौधरी, सञ्जय शर्मा, राजकुमार यादव, सन्तोष महतो, सुरेन्द्र राम, शोक महरछी,अब्दुल राय रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *