लिलाधर ओली,
दाङ, २३ जेठ । लकडाउनका कारण उत्पादन भएको टमाटर बेच्ने बजार नभएपछि किसानले टमाटरको बोटसँगै फललाई पनि बारीमै कुहिन दिएका छन । लकडाउनका कारण बजारसम्म लैजान नसकिने र गाउँघरमा बिक्री नहुने भएपछि किसानहरुले उत्पादन गरेको टमाटर बारीमै कुहिन गरेको हो ।
दुई महिना बढी भएको लकडाउनका कारण दश लाख बराबरको क्षति ब्यहोर्नुपरेको घोराही उपमहानगरपालिका–२ निमुरियाका किसान हरि जिसीले बताए । लकडाउनका कारण बारीमा उत्पादन भएको तरकारी बेच्न नपाउँदा सात कठ्ठामा लगाएको टमाटर बारीमै कुहिएर खेर गएको उनले बताए । ‘बन्दको समयमा बिक्री गर्ने बजार नहुँदा लाखौ मूल्यको टमाटर बारीमै कुहिएर खेर गएको छ’, कृषक जिसीले भने– ‘जसले गर्दा हाम्रो मेहनतसमेत उठाउन सकेनौं ।’ उत्पादन भएको केही टमाटर गाउँमा बिक्री भए पनि ठूलोमा मात्रामा खेर गएको उनले बताए ।
बारीमै टमाटर सुक्ने र कुहिन थालेपछि किसानहरुले गाई, भैसी, सुंगुर, बंगुरलाई खुवाउने गरेका गरेका छन् । घरमा पालेका जनावरले पनि खान छोडेपछि बारीमै सुक्न दिएका छन् । ‘उत्पादन भएको टमाटर थोरै बिक्री भए पनि धेरै कुहिएरै खेर गएको छ’, जिसीले भने– ‘केही टमाटर सुंगुर–बंगुरलाई खुवाऔँ बाँकी बारीमै सुकेर जाँदैछ ।’ उनले करिब ११ कठ्ठामा लगाएको टमाटर खेर गएको बताए । ‘गतबर्षलाई आधार मान्ने हो भने, अहिले दश लाख बराबरको टमाटरमा क्षति भएको छ’, उनले भने– ‘लकडाउनका कारण अहिले बीउ र श्रमसमेत उठ्न सकेन ।’ त्यसैगरी निमुरियाकै अर्का किसान प्रेमनाथ योगीले पनि ५ कठ्ठा बढी जमिनमा लगाएको टमाटर खेर गएको छ । पाँच कठ्ठा जमिनमा लगाएको टमाटरसँगै मेहनत समेत अहिले खेर गएको उनले बताए ।
उत्पादन भएको टमाटर बिक्री गर्ने बजार नहुँदा उनले पनि गाईभैसीलाई खुवाउनेदेखि भारीमै कुहिएर टमाटर सिद्धिन थालेको बताउँछन् । ‘लकडाउनका कारण बजार बन्द हुँदा यो बर्ष ठूलो क्षति भएको छ’, किसान योगीले भने– ‘उत्पादन भएको टमार बिक्री गर्ने बजार नहुँदा गाउँलेहरुले गाईभैसीलाई खुवाउनुप¥यो ।’ लकडाउनका कारण बिक्री गर्न नपाउँदा बीउको मूल्यसमेत नउठेको बताए । ‘टमाटरको बीउदेखि बारी जोत्ने, बाँस किन्ने, माटो मिलाउने र औषधि गर्दासम्म करिब दुई लाख खर्च भएको थियो’, योगीले भने– ‘दुई बढी खर्च गरेर सात लाख बढी आम्दानी गर्ने लक्ष्य थियो । तर लकडाउनमा टमाटरसँगै सबै चिज बारीमै खेर गयो ।’
गएको बर्ष तीन कठ्ठा जमिन ५ लाखको टमाटर बिक्री गरेका उनले यो बर्ष करिब ७ लाख मूल्यको टमाटर बिक्री हुने आशा गरेका थिए । उनले यो बर्ष ३५ सयको मात्र टमाटर बिक्री गरेको बताए । यो बर्ष विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका कारण सरकारले लकडाउन घोषणा गर्दा धेरै किसानहरुले उत्पादन गरेको टमाटरलगायतको तरकारी खेर गएको छ ।