यमकला भुसाल,
तुलसीपुर,२४ माघ ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का ६१ वर्षीय गोबिन्दप्रसाद बस्याल प्रायजसो केराबारी मै भेटिन्छन् ।बिगत ५ वर्षदेखि उनको दिनचर्या यसैगरी वित्दै आएको छ । यो जग्गा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको हो । उनले ५ बिगाहा जग्गा १० वर्षका लागि लिजमा लगेका छन् । जग्गाको भाडा बार्षिक ६० हजार तिर्नुपर्छ । त्यही जग्गमा उनले हाल केरा फलाएका छन् ।
यहाँ बस्यालले लगाएका हाइब्रेड र मालभोक जातको ३ हजार भन्दा बढी केराको बिरुवा हुर्किएर फल समेत दिइरहेका छन् । एकघरी केराको बोटबाट १५ देखि ४० दर्जनसम्म केरा फल्ने गरेको उनले बताए ।
वर्षमा १५ लाख जति आम्दानी गर्दै आएको जानकारी दिए । सुरुमा उनले यो जग्गमा उखु खेती गरे ।
उखुवाट सोचेजति फाईदा नदेखेपनि उनले केरा खेती सुरु गरेको बताए । ‘केरा खेती राम्रो छ,’ बस्यालले भने ‘ उखु भन्दा त दोब्बर फाइदा हुने रहेछ।’
उखुको भुक्तानी समयमा नपाउँदा ऋण गरेर खर्च धान्नुपर्ने बाध्यता रहेको उनले विगत स्मरण गरे ।‘केरा खेती सजिलो पनि छ र बेच्ने वित्तिकै हातमा पैंशा पर्छ,’ बस्यालले भने । स्थानीय बजारमा काँचो केरा प्रति दर्जन ८० देखि १ सय रुपैंया सम्ममा बिक्री हुने गरेको तथा पाकेको केरा प्रति दर्जन ६० देखि १ सय ३० रुपैंया सम्म बिक्री हुँदै आएको बस्यालले जानकारी दिए ।
उनले आफुले उत्पादन गर्ने केरा अर्गानिक भएको दाबी गरे । गाई र कुखुरा मल प्रयोग गरेर केरा उत्पादन गर्दै आएको उनले बताए ।
बस्याल साइकलमा गाउँ–गाँउसम्म पुगेर केरा बेच्न जाने गर्छन । ‘गाउँमा लगे राम्रो मुल्य पाइन्छ,’ बस्यालले भने ‘बजारका विषादी प्रयोग गरेका भारतीय केराको विगवितगीले सस्तो छ।’उनले पातुखोलाको पानी मोटरले तानेर केरामा सिंचाई गर्दै आएका छन् । बस्यालले यो वर्षदेखि तुलसीपुरमा आफ्नै रिसोर्ट खोल्ने र त्यहाँबाटै केराको विक्रि वितरण गर्ने बताएका छन् । केराको पकौडा, मःम, वाइन लगाएतका परिकारहरु बनाएर विक्रि गर्ने योजना रहेको उनले सुनाए ।
बहुउद्देश्य कृषि तथा पशुपालन फार्म दर्ता गरेर केरा खेती गर्दै आएका उनले ४ जना युवालाई रोजगारी दिएको बताए । चार युवालाई प्रति व्यक्ति मासिक १५ देखि २० हजारसम्म तलब दिएको उनले बताए ।