२०८१ बैशाख ४ गते मङ्गलवार

रारा अब मदिरा निषेधित  

रारा। मुगु जिल्लाका चार वटा स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिकालाई देशकै पहिलो मदिरा निषेधित नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाका १४ वटै वडाका स्थानीयवासीको उत्साहका साथ संस्कृति, बाजा झाँक्रीसहित कार्यक्रम सहभागी थिए । नगरलाई मदिरा निषेधित नगर घोषणा गर्न दुई महीनादेखि स्थानीय प्रहरी प्रशासन तथा नगरपालिकाका सबै गाउँ बस्तीमा नियमित प्रचारात्मक अभियान थालिएको थियो । नगरपालिकालाई मदिरा निषेधित नगर घोषणा कार्यक्रममा नगरपालिकाभित्रका पाँँच हजार बढी सर्वसाधारणको सहभागिता थियो ।

नगरलाई मदिरा निषेधित घोषणा गर्दा प्रदेश मुख्यमन्त्री शाहीले प्रतिबद्धतापत्र वाचन गर्दा उपस्थित सबैले उठेर वाचन गरेर मदिरा निषेधितमा प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा नगरका वडा नं ५ का वडाध्यक्ष डम्बरबहादुर रावलले मदिराकै कारण समाज उधो गतितिर गएको र समाजमा महिला हिंसा, बालविवाह, विकास दुरुपयोग, अनियमिता बढ्दै गएको निष्कर्षसहित गत असोज १ गते बसेको नगरसभाको निर्णय गरेअनुसार आज निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिए ।

विगतका चाडबाडभन्दा यो वर्षका चाडबाड नगरवासीले खुशी र उल्लासमा मनाएको स्मरण गर्दै यो अभियानमा सबै लाग्न प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आग्रह गरे ।

नगर क्षेत्रलाई बिक्री क्षेत्र बनाएका नेपाल सरकारबाट मदिरा बिक्रीका लागि इजाजत प्राप्त २६ जना व्यवसायीले आफ्ना इजाजतपत्र नगरपालिकालाई बुझाएको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रत्नसिंह मल्लले बताए ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद गोपालबहादुर बमले नगरपालिकाले मदिरा नियन्त्रण, व्यवस्थापन तथा निषेधित क्षेत्र घोषणा कार्यविधि २०७५ छायानाथ रारा राजपत्र सार्वजनिक गरेका थिए ।

मदिरा पीडितको प्रतिनिधित्व गदै छायानाथ रारा नगरपालिका वडा नं १ श्रीनगर गाउँकी नन्दकला मल्लले आफूले १८ वर्षमा विवाह गरेको १० वर्ष नबित्दै श्रीमानको मदिरा सेवनकै कारण कलेजोमा क्यान्सर भएर मृत्यु भएको र साथमा रहेका चार बच्चाको कठिन सामना गर्दै पालनपोषण गरेको बताए ।

कार्यक्रममा नगरपालिका–३ तुम गाउँका स्थानीय केशर रावलले विगतमा मदिरा सेवन गरेकामा पश्चाताप गर्दै १२ वर्षभन्दा लामो समयसम्म रक्सी सेवन गर्दा धन, इज्जत सबै गुमेको र आफ्ना बालबच्चाले राम्रो शिक्षा नपाएको तथा आर्थिकरुपमा आफ्नो परिवार कमजोर हँुदै गएको बताए । उनले नगरपालिकाले घोषणा गरसँगै आफूले मदिरा सेवन छोडेको घोषणा गरे ।

स्वर्ग भनेकै कर्णाली हो भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छायाँनाथ, चन्दननाथजस्ता प्रसिद्ध तीर्थस्थल रहेको बताए ।  कर्णाली प्रदेशमा मानिस कासाका थाल, कासाका भाँडा, तामाका भाँडामा मार्सी चामल खाने क्षेत्र हो तर केन्द्रीय सरकारको उपेक्षाले क्रमशः कणाली गरीब भएको हो उनले भने ।रासस

प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *