काठमाडौँ ,साउन २ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ। बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजेदेखि सुरु हुने भएको हो।
पार्टीको केन्द्रीय समितिको बैठक यसअघि असार २७ गते बस्ने भनिएको भएपनि त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनका कारण आजका लागि सर्न पुगेको हो।
पार्टीका एक नेताका अनुसार आजको बैठकमा छलफलका लागि १० एजेन्डा तय गरिएको छ। जसका लागि हिजो सोमबार पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएका थिए।
पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति देउवासहित महामन्त्रीद्वय गगन थापा र शर्माले बैठकका अजेन्डाका सन्दर्भमा प्रस्ताव राखेका थिए।
समसामियक राजनीतिक घटनाक्रम, सांगठनिक कार्ययोजना, राष्ट्रव्यापी अभियानको घोषणा, कार्यसम्पादन समिति बैठकका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन, नीति अधिवेशनको प्रस्ताव, विभाग गठन, अनुशासन समितिको प्रतिवेदन पेस, संसदीय दलको समीक्षा र संघ, प्रदेश र स्थानीय सरकारको समीक्षासँग सम्बन्धित विषय छलफलको एजेन्डा तय भएका छन्।
बैठक कम्तीमा १ हप्तासम्म चल्ने जनाइएको छ। जसमा पहिलो दिन दिउँसो १ बजेदेखि सुरु हुने र त्यसपछि भने हरेक दिन बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ।