काठमाण्डौ ,फागुन ४ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताएका छन ।
बिहीवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बतार्एका हुन ।
उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउनुपर्ने बताए ।
उनले कर्मचारी र कैदीबन्दीलाई यसै पटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्दै आउँदा दिनमा कानुन बनाएर आम मतदातालाई मतदान गर्न दिइनुपर्ने बताए ।
यस्तो व्यवस्था गर्न सकेमा मतदान गर्नेको सङ्ख्या बढ्ने उनको भनाइ छ ।
उनले भने, ‘तपाईँ काठमाण्डौमा एउटा एनजीओमा काम गरिरहनुभएको छ तर तपाईँको घर चाहिँ मनाङ वा ताप्लेजुङ हो भने तपाईँले भोट नै हाल्न नपाउने भन्ने हुन्छ रु जो जहाँ छ त्यहीँबाट कम्तीमा पनि समानुपातिकतर्फबाट भोट हाल्न पाउने कुराको ग्यारेन्टी गर्ने गरी कानुन बनाउनुपर्छ । कर्मचारीलाई त दियौँ हामीले यो पल्ट । कैदीबन्दीलाई पनि दियौँ । तपाईँ कैदीबन्दीभन्दा पनि कमजोर हो र रु यसो गर्यो भने मत त यसै बढ्यो नि । विदेशमा बसेका मतदाताको कुरा होला । यसरी जानुपर्छ ।’
प्रमुख आयुक्त थपलियाले जनअनुमोदित राजनीतिक दलहरूलाई मात्रै सर्वदलीय बैठकमा समावेश गराउने प्रावधान राख्ने गरी आयोगले निर्णय गर्न लागेको बताए।
उनले जिल्लामा सर्वदलीय बैठक राख्नुपरेमा त्यो जिल्लामा पार्टीको जिल्ला समितिको विवरण पेस गरेको, प्रतिनिधि सभा, प्रदेश सभा र पालिकामा प्रतिनिधित्व गरेको दलहरूलाई मात्रै बोलाउन आफूले निर्देशन दिएको बताए ।
दल दर्ता गर्नु उपलब्धि नभएर नागरिकद्वारा अनुमोदित हुनु र वैद्यता सिर्जना गर्नु ठूलो कुरा भएको उनको भनाइ छ ।
प्रमुख आयुक्त थपलियाले आयोगले समावेशिता र लैङ्गीक समानतालाई अत्यधिक समेटेर निर्वाचन कानुन तयार गरिरहेको पनि जानकारी दिए ।