काठमाडौं ,मंसिर १२ । सम्भावित सत्ता समिकरणबारे छलफल गर्ने गठबन्धनका नेताहरु आन्तरिक गृहकार्यमा जुटेका छन्।
सोमबार बिहान प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेर छलफल गरेका हुन्।
उनीहरुबीच वर्तमान सत्ता गठबन्धन भित्रबाट सरकार बनाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। निर्वाचनको मत परिणामको समीक्षा, समसामयिक राजनीति र आगामी रणनीतिको विषयमासमेत उनीहरुबीच कुराकानी भएको छ।
प्रतिनिधिसभा निर्वाचनको केही सिटको परिणाम आउन बाँकी रहेको छ। मतपरिणाम आउने क्रम जारी रहँदा सरकार गठन प्रक्रिया र अब बन्ने सरकारको नेतृत्व कसले गर्छ भन्ने चर्चा राजनीतिक वृत्तमा व्याप्त छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच शनिबार पनि द्विपक्षीय संवाद भएको थियो।
बालुवाटार स्रोतका अनुसार प्रचण्ड बालुवाटारबाट बाहिरिएपछि नेपाल गएका हुन्।