२०८१ साउन ६ गते आइतवार

संघ र सातै प्रदेशमा दुई तिहाईको गठबन्धन सरकार बन्छः वर्षमान पुन

रोल्पा ,कात्तिक २८ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले ४ मंसिरको निर्वाचनमा सत्तारुढ गठबन्धनले संघ र सातवटै प्रदेशमा दुई तिहाई बहुमत प्राप्त गर्ने बताएका छन्।

पुनले संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने बताए। केपी ओलीले जनमतको अपमान गरी पटक–पटक संसद विघटन गरेका कारण संविधान र लोकतन्त्र बचाउन वर्तमान गठबन्धन बनेको पुनको भनाइ थियो। उनले चुनाव जित्न र सत्ता स्वार्थका लागि मात्र गठबन्धन नभएको उल्लेख गरे।

‘जित्नकै लागि चुनावमा सहभागी हुने हो, तर सत्ता स्वार्थका लागि मात्र गठबन्धन भएको होइन’, गृहजिल्ला रोल्पाको माडी गाउँपालिकास्थित घर्तीगाउँमा आइतबार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘केपी ओलीको पटकपटकको प्रतिगमनका कारण यो गठबन्धन बनेको हो। सत्ता स्वार्थका लागि मात्र भएको होइन।’

पुनले गठबन्धनले जनमतको सम्मान गर्ने भन्दै कुनै पनि हालतमा पाँच वर्षे कार्यकालको बीचैमा प्रतिनिधिसभा विघटन नहुने प्रतिबद्धता जनाए। उनले जनताको जनमतलाई शीरमा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाए। संविधानको रक्षा, राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिका लागि गठबन्धन बनेको भन्दै पुनले जनताले छिटोछरितो रुपमा घरदैलोमै प्रशासनिक सेवा प्राप्त गर्ने वातावरण बनाइने उल्लेख गरे।

भौतिक तथा मानवीय पूर्वाधार, जनताको आयमा वृद्धि र जीवन स्तरमा सुधार नै असली अर्थमा समृद्धि भएको चर्चा गर्दै पुनले त्यसका लागि संघीय सरकार, सातवटै प्रदेश सरकार तथा स्थानीय तहबीच एकीकृत र समन्वयात्मक ढंगले काम गरिने प्रतिबद्धता जनाए।

पुनले निरंकुशता र प्रतिगमन रोक्न कांग्रेस–माओवादी एकै ठाउँमा उभिनुपर्ने बाध्यता सिर्जना भएको भन्दै विगतका तीतामिठा घटना बिर्सिएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *