बुटबल,असोज २६ । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का विद्यार्थी डा. निकोलस भुसाल भनिने कमल भुसालको उम्मेदवारी खारेज भएको छ।
भुसालविरुद्ध स्वतन्त्र उम्मेदवार विष्णु विश्वकर्मा र टोप नारायण पौडेलले उजुरी दर्ता गरेका थिए।
उजुरीउपर छानबिन गर्दा भुसाल उम्मेदवार हुन पाउने योग्यता नपुग्दा उनको उम्मेदवारी खारेज भएको सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जनाएका छन्।
भुसाल चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालमा एमडी तहमा अध्ययनरत विद्यार्थी हुन्।
उनले अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए।
यसैगरी, नेकपा समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ रुपन्देहीका उम्मेदवार राजु गुरुङ र सोही क्षेत्र तथा पदका स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको पनि मनोनयन खारेज भएको छ।
