दाङ, जेठ १८ । करेन्ट लगाइ माछा मार्ने क्रममा रोल्पा र दाङमा गरि दुई युवाको मृत्यु भएको छ ।
दाङ र रोल्पामा दुई दिनको अन्तरालमा ब्याट्रीको प्रयोग गरि माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको हो ।
सोमबार बेलुकी पख रोल्पाको माडी गाउँपालिका – २ घर्ती गाउँका ३९ बर्षीय हरिबहादुर घर्तीको माडी – ४ तार्केवाङस्थित स्याङखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
बेलुकी ४ बजेतिर उनलाई खोला किनारमा अचेत अवस्थामा देखेपछि रा १ च ११७४ नम्बरको पिक अप गाडीका चालक कर्मलाल घर्ती मगरले प्रहरीलाई खबर गरेका थिए । हरिबहादुर कर्मलाल संगै खोलामा गएका थिए । कर्मलालले खोलामा आफ्नो गाडी धुने क्रममा हरिबहादुरले आँफैले साथमा लगेको १२ भोल्टेजको ब्याट्रीको प्रयोग गरि करिब डेढसय मिटर पश्चिममा माछा मार्दै गर्दा करेन्ट लागेर अचेत अवस्थामा फेला परेका थिए ।
बाख्रा गोठालो गएकाहरुले खोला किनारमा हरिबहादुरलाई पल्टिएको देखेपछि चालक कर्मलाललाई त्यसबारे अवगत गराएका थिए । त्यसपछि कर्मलालले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट प्रहरी पुग्दा हरिबहादुरको मृत्यु भइ सकेको थियो । प्रहरीले घटनास्थल बाट १२ भोल्टेजको ब्याट्री र तार बरामद गरेको थियो ।
त्यस्तै प्रकृतिको घटना शनिबार दाङमा पनि घटेको थियो ।
दाङको बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुर घाट क्षेत्रमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुरका ४७ वर्षीय भोजराज केसीको आँफैलाई करेन्ट लागेपछि मृत्यु भएको थियो ।
केसीसहित सात जना ब्याट्रीको प्रयोग गरि माछा मार्न भनेर गएका थिए । तर, केसी आँफैलाई करेन्ट लागेपछि उनी अचेत बनेका थिए । तत्काल उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो ।
चिकित्सले चेकजाँच पछि उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले संगै माछा मार्न गएका ६ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।
