दाङ,जेठ १४ ।
बाँकेको डुडुवा गाउँपालिका –२ जाफरपुरवामा बुधबार बिहानै १८ बर्षीया एक केटी गाउँकै ठूलो मोवाइल टावरको टुप्पामा पुगेकी थिइन ।
उनले आफ्नो प्रेमी खोजेर ल्याइ दिनु पर्ने माग गरि रहेकी थिइन । अन्यथा त्यहीबाट हाम फालेर प्राण त्याग्ने धम्कि दिइ रहेकी थिइन ।
गाउँलेहरुले संझाउँदापनि उनी तल ओर्लिन मान्दै मानिनन् । गाउँ घरका स्थानीयले हार मानेपछि उनीहरु प्रहरीलाई बोलाउन बाध्य भएका थिए । प्रहरीलाई त्यसबारे स्थानीयले बिहान सवा ६ बजेतिर खबर गरेका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाँके बाट झन्डै ७ किलोमिटर पूर्वको जफरपुरुवा गाउँमा प्रहरी निरीक्षक केशव केसीको कमाण्डमा ११ जनाको टोली पुगेको थियो । बिहान साढे ७ बजेतिर केसीसहितको टोली घटनास्थल पुग्दा झन्डै डेढ दुई सय मानिसहरु जम्मा भइ सकेका थिए । केटीले एकहोरो रटान लगाइ रहेकी थिइन– ‘मेरो प्रेमीलाई जसरी भएपनि खोजेर ल्याइदेउ । अन्यथा हाम फालेर मरिदिन्छु ।’
सबैले आश्वासन दिएपछि ती केटी केही मुनी ओर्लिइन । त्यसपछि स्थानीय प्रहरी चौकीमा कार्यरत एक महिला प्रहरी माथि टावरमा चढेर उनलाई संझाइ बुझाइ जमिनमा ल्याउन सफल भएकी थिइन ।
प्रहरी निरीक्षक केसीले पनि हप्ता दिन अघि छिमेकी मुलुक भारतको घटनाबाट किशोरीले गलत प्रेरणा लिएको हुँदा उनको हर्कतलाई सामाजिक संजालको असर तथा गलत बुझाइको परिनामका रुपमा समाजले बुझ्नु पर्ने बताए ।
त्यहाँ बाट उद्धार पछि ती किशोरीलाई प्रहरीले भेरी अस्पताल नेपालगंजमा पुर्याएको थियो । उनको मानसिक स्वास्थ्य स्थिति चेकजाँच र परामर्षहरु बेलुकी पख अभिभावको जिम्मा लगाइएको थियो ।
