
काठमाडौं, साउन ७ । आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल पहिलो खेलमै पराजित भएको छ। मंगलबार सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा नेपाललाई कतारले ४ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले ४ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पार गर्यो। कतारका लागि इनाम उल अकले सबैभन्दा बढी ४१ रन जोडे। उनले ३२ बलमा ६ चौका प्रहार गरे। करमान खानले २२ रन जोडेका थिए।
बलिङमा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। तर उनले ४ ओभरमा ३३ रन खर्चिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ गरेको थियो। नेपाल २० ओभरमा १२२ रनमै अलआउट भयो।
कमजोर ब्याटिङ गरेको नेपालका ७ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ पेभिलियन फर्के। कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालको ओपनिङ गरेका थिए। उनीहरुबीच पहिलो विकेटका लागि ६ ओभरमा ४९ रनको साझेदारी भएको थियो।
पारस छैटौं ओभरको अन्तिम बलमा २८ रनमा जोडेर आउट भए। उनले १७ बलमा ४ चौका र १ छक्का हिर्काए। ज्ञानेन्द्रले आउट हुनुअघि २४ रन जोडे। उनले २४ बलमा २ चौका र १ छक्का प्रहार गरे। त्यसपछि नेपालले लगातार विकेट गुमाएको थियो।
शरद भेषवाकर १३ बलमा ७ रनमै आउट हुँदा सोमपाल कामी ११ रनमा रनआउटको सिकार बने। यस्तै विनोद भण्डारी ३ रनमै आउट भए।
नेपालका लागि सबैभन्दा बढी रन जोडेका दीपेन्द्रसिंह ऐरीले ३४ रन जोडे। उनले ३५ बलमा १ चौका र १ छक्का प्रहार गरे। यस्तै करण केसी पनि ४ रनमै आउट भए। दीपेन्द्र र करण दुवैलाई कतारका नउमान सारवारले १९औं ओभरमा बोल्ड गरेका थिए।
अन्तिम ओभरमा सन्दीप लामिछाने ९ रन, अभिनास बोहरा ० र बसन्त रेग्मी ० रनमा आउट भए। बलिङमा कतारका इकबाल हुसेनले ३ विकेट लिए। सउबार र कप्तान तमुर साजिले २-२ विकेट लिए।
प्रतियोगितामा सिंगापुर, कतार, नेपाल, मलेसिया र कुवेतको सहभागिता छ। नेपालले बुधबार मलेसियासँग खेल्नेछ। विश्व छनोटमा पुग्न नेपालालाई मलेसियाविरुद्धको खेलमा ज ित हात पार्नै पर्ने दबाब हुनेछ।